Logo

‘शीर्ष नेताहरूले प्रजातन्त्रको मर्म नै बुझेनन्, यिनीहरू राजाजस्ता भए’ : डा. चन्द्र भण्डारी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले पार्टीभित्र सहमति कायम हुने र सबै नेताहरु आपसमा मिलेर नै अघि बढ्ने स्पष्ट पारेका छन् । हिजो (आईतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले भने,‘यति लामो समयसम्म लडेका, तपस्या गरेका नेताहरू, रामचन्द्रजी वा शेरबहादुरजी १६ वर्ष जेल बसेका नेताहरूलाई अब यो पहिलाको परम्परा, दृष्टिकोणभन्दा हामी अब फरक मुद्दाहरू पनि उठाउने, समाधान पनि गर्ने भन्ने तरिकाले जाँदा मलाई लाग्छ, सबै अब मिलाएर, बसेर, अहिलेको परिस्थितिमा अराजकताको अन्त्यको नेतृत्व लिनुपर्छ भन्ने पक्षमा अत्यन्त हृदयदेखि नै हिजोबाट हाम्रो छलफल चलेको छ ।’ प्रस्तुत छ नेता भण्डारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब नेपाली कांग्रेसभित्र फेरि पनि सहमतिको प्रयास भएको हो ? 

अहिले देशको अवस्था कोरोनाको समस्या, औषधीको अभाव, यो बेलामा नेपाली कांग्रेसजस्तो प्रतिपक्षमा बसिरहेको छ । उसले आपसका मनमुटावहरू नगरेर, एक आपसमा विश्वास दिलाउने काम गरेर अगाडि बढ्नुपर्छ भनेर हामी सबैले महशुस गरेर हिजोबाट रामचन्द्र पौडेल समुहले राखेका अविश्वासका सत्तासँग राखेका कुराहरूलाई हामी बसेर छलफल सुरु गरेका छौँ । त्यो छलफल अत्यन्तै राम्रो तरिकाले सुरु भएको छ । अफिसियल पक्षले पनि अत्यन्तै राम्रो तरिकासँग हिजो जवाफ दिएको छ । आज हामी यसलाई बसेर समाधानको बाटो जाँदैछौँ । केही साथीहरूलाई कोरोना पुष्टि भएको कारणले आज हामीले बैठकलाई स्थगित् गरेका छौँ ।

हिजोका बैठकको उद्देश्य पूरा भयो त, नेताहरूले के–के भने, बैठकमा ? शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले के भन्नुभयो ? सहमतिका सूत्रहरू पहिल्याउन सफल हुनुभयो ?

उहाँहरू सधैँ बस्ने, समाधान खोज्ने फेरि निस्कने बेलामा नमिले जस्तो गरेर निस्कने एउटा धार हाम्रो परम्परावादी सोच, चिन्तन थियो । हामीले पनि त्यहाँ बसेर अब त्यसरी जानु हँदैन, यति लामो समयसम्म लडेका, तपस्या गरेका नेताहरू, रामचन्द्रजी वा शेरबहादुरजी १६ वर्ष जेल बसेका नेताहरूलाई अब यो पहिलाको परम्परा, दृष्टिकोणभन्दा हामी अब फरक मुद्दाहरू पनि उठाउने, समाधान पनि गर्ने भन्ने तरिकाले जाँदा मलाई लाग्छ, सबै अब मिलाएर, बसेर, अहिलेको परिस्थितिमा अराजकताको अन्त्यको नेतृत्व लिनुपर्छ भन्ने पक्षमा अत्यन्त हृदयदेखि नै हिजोबाट हाम्रो छलफल चलेको छ ।

अब तीनओटा एजेण्डा कांग्रेसमा अहिले विभाजित छन् । एउटा महाधिवेशन गर्ने कि नगर्ने, फागनुमा ? कत्तिको सम्भव छ ?

हामीले प्रतिबद्धता गरेका छौँ तर प्राकृतिक घटना घट्यो भने अहिले पनि यसलाई आँकलन नगरौँ । अहिले हाम्रो सक्रिय सदस्य ७७ वटा जिल्लाहरूमा सभापतिले लगिसकेका छन् । ४ ओटा जिल्लाहरू समायोजनको प्रक्रियामा छ । हामी सबै मिलेर लाग्ने भन्ने एउटा दृष्टिकोण हामीमा बसेको छ । महाधिवेशनको बारेमा हामी सबै प्रतिबद्ध छौँ भन्ने भावना सबै नेताहरूले व्यक्त गरेका छन् ।

त्यसोभए महाधिवेशन हुने भयो ?

महाधिवेशन अहिले हामीले दुई तरिकाले सोचिरहेका छौँ । यदि कोरोना भयावह भएर गयो भने पनि आधुनिक प्रविधिको प्रयोग गरेर कसरी गर्ने ? भन्ने विकल्प पनि हामीले सोचेका छौँ । यो कोरोना ठीक हुँदै गयो भने पनि सबै भेला भएर गर्ने कुरालाई पनि हामीले दुई पक्षबाट सोचेका छौँ ।

रामचन्द्र पौडेलले असहमतिपत्र दर्ता गराउनुभएको छ, पार्टी कार्यालयमा । त्यसबारेमा के भयो, हिजोको बैठकमा ?

रामचन्द्रजीले प्रस्तुत गरेको जुन पत्र छ, त्यसमा हामीले पनि हस्ताक्षर गरेका छौँ । त्यसमा धेरै साथीहरूको सहभागिता छ । एउटा सक्रिय सदस्यता निष्पक्ष गराउने भन्ने जुन छ, त्यसलाई अब छानविन समिति गठन गरेर त्यसलाई छानविन गर्ने भन्ने एउटा सहमति भएको छ । दोस्रो कुरा अब समायोजन अब जम्मा चारओटा जिल्लाहरूमा छ, त्यो समायोजनको निम्ति बसेर कुरा गरेर त्यसलाई छिटो टुंग्याउने भन्ने कुरा पनि भएको छ । तेस्रो हाम्रो जुन पार्टीभित्र भातृसंस्था र शुभेच्छुक संस्था र जनसम्पर्कहरू जो छन्, यो महाधिवेशनमा भाग लिन नपाउने कुराहरू छन्, त्यसको बारेमा अहिले फेरि छलफल सुरु भईरहेको छ ।

रामचन्द्र पौडेलले धेरै कुराहरू उठान गर्नुभएको छ, विभागहरू गठन प्रक्रिया खारेज गर्नुपर्छ । केन्द्रिय सदस्यता मनोनयन खारेज गर्नुपर्छ । त्यसमा के भयो ?

विभागको बारेमा हामी अब अन्तिमको कुरा हामीले अवैधानिक रूपमा विभाग गठन गरेर जुन खाली खाम देशभरि बाँधिएको छ, त्यो खाली खाम देशभरि प्राप्त गर्ने वा नगर्ने जसले विधि र विधानलाई कुल्चिएको छ, त्यसलाई ब्लक गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसको बारेमा आजबाट बहस सुरु गर्ने भन्ने थियो । अहिले स्थगित् भएको छ ।

त्यसो भए विभाग गठन प्रक्रियामा सभापति शेरबहादुर देउवा ब्याक हुनुहुन्छ, अब ?

अहिलेको परिस्थितिमा यस्तो कठिन परिस्थिति, मानवीय सभ्यतामा आन्तरिक कुराका निम्ति हामी सबै लाग्नुपर्छ, पार्टी, देश, समाजका निम्ति र यो समस्या समाधान गर्नका निम्ति । हामी सबै लाग्नुपर्छ भन्ने कुरामा लगभग सबैको एउटै मनस्थिति छ ।

त्यसो भए शीर्ष नेताहरूको बीचमा सहमति हुन्छ भन्ने कुरामा तपाईँ ढुक्क हुनुहुन्छ, अब ?

हामी कुनै पनि हालतमा गराउनुपर्छ भन्नेमा छौँ । होइन भने देश कठिनमा पर्दैछ ।

अब विशेष अधिवेशन बोलाउने कुरा कति जायज, सान्दर्भिक छ ? आवश्यक छ कि छैन ?

जनताको कुरा उठाउने ठाउँ, समस्या राख्ने ठाउँ सदन हो । सदन बन्द भईसकेपछि सदनमा उठ्ने कुराहरू बाहिर उठ्दाखेरि अराजकता हुन्छ । अराजकता भईसकेपछि यो व्यवस्थाप्रति प्रश्न उठ्छन् । नेताहरूको क्षमतामाथि प्रश्न उठ्छन् । संसद त हामीकहाँ भारतको संसद चलिरहेको छ । भारतको विहार, अमेरिकामा चुनाव हुँदैछ । भनेपछि हामीले यसका निम्ति विशेष अधिवेशन बोलाउनुपर्ने आवश्यकता भएको हामीले महशुस गरेका छौँ ।

केन्द्रीय समितिको कहिलेबाट सुरु हुन्छ ?

अब केन्द्रिय समितिको बैठक भोलिबाट बस्ने हो । तर आजको जो समस्या देखियो पार्टीभित्रको, कोरोनाको समस्या देखियो, यसले गर्दाखेरि आज हामीले यो सानो बैठक गरेका छौँ भने मलाई लाग्छ, केन्द्रिय समितिको बैठक हामीले जुमबाट गर्ने हो कि भन्ने ।

त्यसो भए जुमबाट हुन्छ, केन्द्रिय समितिको बैठक ?

जसरी पनि हामीले अहिलेका समस्या समाधान गर्नका निम्ति विकल्प जुमको प्रयोग गरेर होस्, हामीले गर्नुपर्ने हुन्छ ।

त्यसोभए भोलि केन्द्रिय समितिको बैठक हुन्छ, बैठक सदैन ? स्थगन हुँदैन ?

अहिले हामीले दिउँसै छलफल गर्दैछौँ । कति साथीहरूलाई कोरोना देखिन्छ ? त्यसका आधारमा हामीले गर्छौँ ।

तपाईँ लुम्बिनी प्रदेशको नेता पनि हो, त्यहाँ प्रदेशको राजधानी तोक्ने विषयमा किन आन्दोलन भयो ?

म प्रदेशको पहिलाको सांसद हुँ ऋषिजी ।

प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी राख्दाखेरि कांग्रेसको असहमति किन ? के कारणले ?
एउटा कुरा कस्तो छ भन्नुहुन्छ भने ऋषिजी–हामीले पहिल्यै प्रदेशको राजधानी बनाउँदा हामी नयाँ शहर, स्मार्ट सिटी बनाउने, कसरी बनाउने ? भन्ने छलफल, लाभदृष्टि नगरीकन हामीले तोक्दै गयौँ । यसले गर्दाखेरि अहिले एउटा समस्या भयो । दोस्रो कुरा हामीकहाँ सबैभन्दा ठुलो कुरा के भयो भनेदेखि कहाँ जनतालाई पहुँच पर्छ, कहाँ बढी सुविधा हुन्छ ? कहाँ जनताले एउटा घडेरी किन्न सक्छन् ? भन्ने कुरा एउटा पनि हामीले सोचेनौँ । त्यसैकारणले गर्दा अहिले प्रत्येक राजधानी जहाँ बनाएका थियौँ, त्यसमा अहिले विवाद भईसक्यो । यसलाई पनि हामीले कसरी सबैको पहुँच पुग्छ ? अहिले बुटवलमा आन्दोलन भईरहेको छ । यसका निमित्त हामीले पनि छलफल गर्दैछौँ ।

आन्दोलन जायज छ अहिले ? आन्दोलन गर्ने बेला हो र ?

यो आन्दोलन गर्ने बेला पनि होइन । तोडफोड गर्ने बेला पनि होइन । जनताले पाएको उपलब्धिलाई हामीले सही तरिकाले समाधान गर्नुपर्छ । यी विवादको बीऊ त हामी नै हौँ नि । हामीले नसोचिकन हरेक कुरा गर्दाखेरि प्रदेशको राजधानी भनेको के हो ? राजधानी कस्तो ठाउँमा बनाउनुपर्छ ? कसरी यसको समाधान गर्नुपर्छ ? कसरी जनताको पहुँच पुग्ने बनाउनुपर्छ ? भन्ने कुरा त हामीले हिजो सोचेनौँ नि ।

बेमौसमको बाजा अहिले किन कांग्रेसले बजाईरहेको छ ?

बुटवलमा प्राप्त भईसकेको कुरा खोसिदाँखेरि त स्वतः मान्छे त रिसाईहाले नि । मैले हिजो एक्लै पहाड र तराई छुटिन हुन्न भन्दा के.पी. ओली र शुशील कोइरालाले हस्ताक्षर गर्दा पनि म एक्लै यो गलत हुन्छ, पहाड र तराई छुट्यो भने नेपालमा समस्या पर्छ, यो आर्थिक रूपले नेपालको महत्वपूर्ण ठाउँ हो । म एक्लै हिँड्दा कसैले मलाई धेरै साथीहरूले सहयोग गरेनन् । नगरेपछि मैले शुशीलजी, प्रचण्डजी, के.पी ओलीजीसँग सल्लाह गरेको हो । शेरबहादुरजीको पालामा फेरि त्यो ल्याउनुभयो । मैले भनेँ कि यो हुनै सक्दैन । यो नेपालको कुरा हो, नेपाली जनताको कुरामा पार्टी भन्ने हुँदैन । आज पनि त जनताको समस्या, अनुकुल कहाँ हुन्छ, जनतालाई कहाँ सुविधा हुन्छ ? जनताले सानो घडेरी कहाँ पाउँछन् ? भनेर सबै त्यहाँका नेताहरू बोल्नुपर्दैन ? मैले त मेरा पालामा जनताका निम्ति काम गरेको छु । त्यही बापत धेरै ठुला अवसरहरूबाट मलाई पछि पारे । त्यतिमात्र होइन, मेरो निर्वाचन क्षेत्र काटिदिएर चुनावमा हराउने काम गरे साथीहरूले । त्यतिबेला कोही पनि बोलेनन् ।

संघीय सरकारले राजधानी तोक्ने काम गरेको छ र पछिल्लो समय त प्रदेशको नाम पनि माथिबाटै तोकियो नि त । किन ?

हामीले बनाएको संविधानअनुसार यो सबै निर्णय गर्ने अधिकार प्रदेशसभाको हो, नेताहरूको होइन । यदि नेताहरूको हो भने त्यो हुकुमी व्यवस्था हो । हामीले देशमा डेमोक्रेसी त ल्यायौं, प्रजातन्त्रमा हामीले तल्लो तहमा पनि अधिकार त दियांै, अधिकारभन्दा पनि यिनीहरू हुकुमीजस्ता भए । प्रजातन्त्रको मर्म नै बुझेनन् । आज राजाजस्ता भए यिनीहरू । सेनाप्रमुखजस्ता भए, पुलिसप्रमुख जस्ता भए । त्यसले गर्दा प्रजातान्त्रिक अधिकारका संस्थाहरू कमसल हुँदै गएका छन् । आज पनि जबरजस्ती लैजाने कुराले विद्रोह भएको हो । हामी सबै ५ नम्बरका जिल्लाका साथीहरूलाई समेटेर अहिले पनि हामी बसेर वार्ता गर्ने हो भने यो सबै कुराको समस्या समाधान हुन्छ भन्ने मलाई लाग्छ । तर सबैले मौनधारण गर्ने, जनताबाट भोट ल्याउने बेलामा ल्याउने अहिले मौनधारण गर्ने भन्ने कुरा यो अत्यन्तै राम्रो कुरा होइन ।

डा. गोविन्द के.सीको माग पूरा गर्नुपर्छ भनेर यतिखेर बहस जारी छ । तपाईंको मत के हो ?

एकदम । यसबारेमा मैले लेखेको छु ऋषिजी । आज मैले गम्भीर भएर भन्दैछु । गोविन्द के.सीजी एउटा त्यागको प्रतिनिधित्व हो । आज एम.बि.बि.एस पढ्न, गाइनोकोलोजी पढ्न पचास लाख पर्छ । उहाँले गर्दा बीस लाख भएको छ । रेडियोग्राफी गर्नको लागि एक करोड चाहिन्छ । आज उहाँले गर्दा बीस लाख भएको छ । उहाँका मागले गर्दा जनताको मेडिकल क्षेत्रमा आमूल परिवर्तन भएको छ । त्यसकारण उहाँले चालेको कदमलाई हामीले सपोर्ट गर्नुपर्छ । यो मेडिकल माफियाबाट हामी बाहिरिनुपर्छ । आज उहाँले भनेको कुरा देशभरि हामीले हस्पिटल बनाउन सकेको भए कति उपलब्धि हुन्थ्यो । उहाँलाई सम्मान गर्नुपर्छ । उहाँले चालेको कदममा हामी सधैँ सँगै छौँ । तर उहाँले अनाहकमा शरीरलाई कमजोर बनाउन हुँदैन भन्ने कुरा मलाई लाग्छ ऋषिजी ।



प्रतिक्रिया दिनुहोस्