विरगञ्ज, असोज २० । वीरगञ्ज सुक्खा बन्दरगाहमा लोडअनलोड व्यवस्थापनको जिम्मा बन्दरगाह सञ्चालकले नै लिएको छ । बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले सोमवारदेखि बन्दरगाहमा आउने कार्गो लोडअनलोड आफै गराउन थालेको हो ।
यसअघि आयातकर्ताले सञ्चालकलाई टर्मिनल सेवाशुल्क तिरेपछि लोडअनलोडका मजदूरलाई बेग्लै रकम भुक्तानी गर्दैआएका थिए । ‘अबदेखि सेवाग्राहीले बन्दरगाह सञ्चालकलाई सेवाशुल्क तिरेपछि मजदूर व्यवस्थापनका लागि बेग्लै रकम दिनु पर्दैन,’ प्रिस्टाइनका मुख्य अधिकृत आदित्य रायले भने, ‘सेवाशुल्कको पूरै रकम हामी लिन्छौं । र, कार्गो लोडअनलोडका लागि कामदार व्यवस्थापन पनि बन्दरगाहले नै गर्छ ।’
बन्दरगाहमा आउने बोराबन्द कार्गोतर्फ आयातकर्ताले बन्दरगाह सञ्चालकलाई प्रतिमेट्रिकटन रू। १०९ रुपैयाँ सेवाशुल्क बुझाएपछि लोडअनलोडका लागि मजदूरलाई रू। १५० का दरले बेग्लै ज्याला दिने गरेका थिए । यो ठेक्का सम्झौताविपरीत भएको भन्दै नेपाल इन्टरमोडल यातायात विकास समिति ९एनआईटीडीबी०ले प्रिस्टाइनलाई स्पष्टीकरण सोधेको थियो ।
बन्दरगाह सञ्चालकले बोराबन्द कार्गोका लागि टर्मिनल सेवाशुल्क रू। २४६ लिने सम्झौता एनआईटीडीबीसँग गरेको थियो । एनआईटीडीबीका उच्च अधिकारीले स्थलगत निरीक्षण गर्दा आयातकर्ताले मजदूरलाई बेग्लै रकम दिएको पाएपछि सञ्चालकलाई स्पष्टीकरण सोधेको थियो ।
बन्दरगाहमा काम गर्ने मजदूर र आपूर्तिकर्ताहरूले स्थायी लेखा नम्बर नलिएकाले यसअघि सेवा शुल्क १०९ रुपैयाँ लिएको र मजदूरको खर्च आयातकर्ताले भुक्तानी गरिरहेको प्रिस्टाइनको भनाइ छ । सेवाग्राहीसित बढी रकम नलिइएको उसको दाबी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।