भरतपुर, असोज २० । झन्डै छ वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रममा पढाइरहेको कक्षा ७ को नेपाली विषय पाठ ४ मा गम्भीर त्रुटि भेटिएको छ । केन्द्रले नै प्रकाशन गरेको नेपाली किताबको पाठ ४ को आन्तरिक पर्यटन शीर्षकको पाठमा विद्यार्थीलाई गलत जानकारी पढाइएको छ ।
नेपालीको कक्षा ७ मा आन्तरिक पर्यटन भन्ने पाठको पेज २७ मा यस्तो गल्ती भेटिएको हो । पुस्तकमा भनिएको छ, “रुपन्देहीको लुम्बिनी, पर्साको वाल्मीकि आश्रम, बाराको गढीमाई, धनुषाकोजानकी मन्दिर, सप्तरीको छिन्नमस्ता, चितवनको देवघाट प्रख्यात छन् । ”
देवघाट चितवन हुँदै जाने भए पनि यो तनहुँमै पर्छ ।
धार्मिक क्षेत्र देवघाट तनहुँको देवघाट गाउँपालिकामा पर्छ । यो चितवन र नवलपरासीको सीमा क्षेत्रसँग जोडिएको छ । चितवनकै बालकुमारी उच्च माध्यमिक विद्यालयकी नेपाली विषयकी शिक्षक गीता पौडेल पाठमा गलत नै भएको बताउन्छन। “पाठ्यक्रमको पाठमै गल्ती भएपछि शिक्षकहरूले त पाठ्यक्रम नै पढाउने हो । यसले विद्यार्थीले गलत कुरा सिकिरहेका छन् भन्ने देखाउँछ”, उनले भने ।
चितवनकै स्मल हेभन स्कुल भरतपुरकी नेपाली विषयकी शिक्षक विष्णु अर्याल पाठमा गलत भए पनि आफूहरूले भने विद्यार्थीलाई सही सूचना दिइरहेको बताउन्छन । “वाल्मीकि आश्रम पर्सामा र देवघाट चितवनमा पर्छ भनेर पाठमा छ, यो गलत हो । पाठमा गल्ती भए पनि हामीले विद्यार्थीलाई देवघाट तनहुँमा र वाल्मीकि आश्रम चितवनमा पर्छ भनेर पढाइरहेका छौँ”, उनले भने ।
यसका साथै वाल्मीकि आश्रम चितवनको माडी नगरपालिकामा पर्छ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ठाउँ भारतसँगको सीमा क्षेत्रमा रहेकाले नवलपरासीको त्रिवेणी हँुदै भारतको बाटो भएर यहाँ पुग्न सकिन्छ । यो ठाउँमा ऋषि वाल्मीकिले ज्ञान आर्जन गरेको, रामायण लगायतका धार्मिक गन्थ रचना गरेको, सीताले लवकुश जन्माएको स्थान भएको
धार्मिक विश्वास रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।