Logo

‘रायमाझी उपप्रधानमन्त्री दिएमात्रै मन्त्रिमण्डलमा सहभागी हुने’



काठमाडौं, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठनको तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको लगातारको छलफल र परामर्शपछि प्रधानमन्त्री ओली पूनर्गठनको तयारीमा जुटेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले नयाँ मन्त्री कसलाई बनाउने ? भन्नेबारे मोटामोटी तय गरिसकेका छन् । मन्त्रिमण्डल पूनर्गठनमा टोपबहादुर रायमाझी र हरिबोल गजुरेललाई मन्त्री बनाउने तयारी भैरहेको छ । पार्टीभित्र संकटको बेलामा आफूलाई साथ दिएको भन्दै ओलीले रायमाझीलाई मन्त्री बनाउने आश्वसन सुरुदेखि नै दिएका थिए ।

तर, रायमाझी भने यसअघि नै आफूले उपप्रधानमन्त्रीको रुपमा काम गरिसकेकोले यसपटक पनि आफूलाई उपप्रधानमन्त्री दिईएमात्रै जाने नत्र नजाने अडान लिएको स्रोतको दाबी छ । रायमाझीनिकट स्रोतले भन्यो,‘उहाँलाई मन्त्री बन्ने अवसर त आएको छ । तर, उहाँले पोर्टफोलियको पनि कुरा गर्नुभएको छ। उपप्रधानमन्त्री भैसकेको मान्छे अहिले मन्त्री मात्रै बनेर नजाने उहाँको अडान छ । हेरौं के हुन्छ ?’ रायमाझी अध्यक्ष दाहालनिकट मानिन्छन् । तर, मन्त्रिमण्डल पूनर्गठनमा दाहालले भन्दा अघि नै ओलीले मन्त्री बनाउने भन्दै रायमाझीको नाम लिएका छन् ।

ओलीले रायमाझीसँगै पूर्व माओवादी केन्द्र खेमाका नेता तथा दाहालका विश्वाससिला नेता गजुरेललाई पनि मन्त्री बनाउने प्रस्ताव गरेको खुलेको छ । तर, गजुरेल भने अहिले आफूलाई मन्त्री बन्न रुचि नभएको भन्दै जिम्मेवारी लिनबाट पन्छिन खोजेका छन् । रायमाझी र गजुरेल दुवै दाहालनिकट नेताको रुपमा चिनिएपनि उनीहरुले दाहाललाई ओलीसँग मिलेर जानुको विकल्प नभएको भन्दै अल्पमत र बहुमतको खेलमा नलाग्न सुझाएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्