Logo

बालसुधारगृहमा सुरक्षा चुनौती थपिँदै



वीरगञ्ज, २० असोज: पर्याप्त सुरक्षाकर्मी नहुँदा बाल सुधार गृहमा सुरक्षा चुनौती र कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । वीरगञ्ज महानगरपालिका–४ बिर्तास्थित सवा कट्ठा जग्गामा २०७५ सालमा स्थापना भएको बाल सुधार गृहमा अहिले कोठाको अभाव रहेका छन् । कोठा अभावका कारण एउटै कोठामा सातदेखि आठजना नाबालक बस्ने गरेकाले कोरोना सङ्क्रमण जोखिमको सम्भावना बढेर गएको कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले राससलाई बताए ।

उनले व्यापक सुरक्षा र कोठाको अभावमा नाबालक थुनुवाहरु छतबाट हामफालेर भाग्ने समस्या एकातिर रहेको छ भने अर्कोतिर एउटै कोठामा धेरै बालक बस्ने गरेकाले कोरोनाको उच्च जोखिम पनि बढेर गएको बताए । कानूनी विवादमा परी १० वर्षभन्दा बढी र १८ वर्ष मुनिका ४४ जना बाल अभियुक्त सो गृहमा छन् । त्यसमध्ये अधिकांश ज्यान मुद्दा, सवारी ज्यान मुद्दा, जबर्जस्ती करणी, लागुऔषध, चोरी, डकैतीजस्ता जघन्य मुद्दाका बाल अपराधी पुर्पक्षका लागि थुनामा छन् ।

सोही गृहमा एसिड काण्डका अभियुक्त पनि रहेका छन । विसं २०७६ भदौ २० गते वीरगञ्जको बिर्तास्थित गणेशमान चौक नजीक दुई नाबालकले विद्यालय गइरहेको अवस्थामा मुस्कान खातुनको मुहारमा तेजाब प्रहार गरेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत एसिड प्रहार गर्नेलाई २० वर्षसम्मको कैद सजाय हुने गरी अध्यादेश ल्याएको छ । सो गृहमा पुस्तकालय बाहेक अन्य सुविधा नभए पनि पढ्न चाहने बाल अपराधीलाई भने पढाइ, पुस्तकको व्यवस्था तथा परीक्षा दिने व्यवस्थासमेत सुधार गृह प्रशासनले गर्दै आएको छ । यसैबीच, एडभोकेसी फोरम नेपाल प्रदेश नं २ जनकपुरधामले बाल सुधार गृहमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि रु एक लाख २० हजार मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

प्रदेश नं २ का संयोजक राजकुमार महासेठले बालसुधारगृह भनेको एक किसिमको कारागार नै हो जुन राज्यको नियन्त्रणमा रहेको छ। उक्त सामग्रीबाट सुधारगृहमा रहेका बालकलाई कोरोना सङ्क्रमित हुनबाट जोगाउने छन् भन्ने विश्वास व्यक्त गरे ।रासस



प्रतिक्रिया दिनुहोस्