उषा शेरचन
तिरस्कार र घृणा बीच
युगौँदेखि बाँचिरहेका छौँ
बुटका निर्मम पैताला मुनि
धूलोझैँ कुल्चिएर
दुःख र पीडा बीच
युगौँदेखि हाँसिरहेछौँ
नैराश्यताको ज्वालामा
जिउँदै होमिएर
कहिले सतीदेवी बन्दै
दक्षको यज्ञमा होमिएर
कहिले अम्वा बन्दै
आफैँले बनाएको चितामा
आफैँ हाम्फालेर
बगरेका हातमा बिक्छन्
हाम्रा मूल्यहरु
ङिच्च दाँत देखाउँदै
बगरेको इशारामा नाच्छन्
हाम्रा आस्थाहरु
फिक्का हाँसो बटुल्दै
हामी सिर्फ मासु मासुको सङ्ग्रह
काँचो काँचो मासु
चोक्टा चोक्टा मासु
न्यानो न्यानो मासु
आलो आलो मासु
प्रतिदिन लुछ्न आउँछन् हामीलाई
गिद्धहरुले झम्टी झम्टी
प्रतिरात हेर्न आउँछन् हामीलाई
अतृप्त आँखाहरुले फर्की फर्की
हम्रो अस्तित्व सिर्फ आँपका कोया
चुसेर फ्याकिदिन्छन्
हाम्रो मान्यता सिर्फ रक्सीका बोतल
पिएर मिल्काइदिन्छन्
सडक सडकमा
गल्ली गल्लीमा
कोठा कोठामा
चोटा चोटामा
देश देशमा
विदेश विदेशमा
र, पनि
लाटोकोसेरोझैँ हेरी बस्छौँ
दिउँसै अन्धकार देखेर
धोबीको कुकुरझैँ भौतारीबस्छौँ
दिनभर भोकले रन्थनिएर
बिचबाटामा लम्पसार परेर
प्रश्न गर्छन् हामीलाई उल्टै
हाम्रा रित्ता पेटहरुले
औँला ठड्याउँछन् हामीलाई उल्टै
हाम्रा नग्नताका सीमाहरुले
जवाफ देउ हाम्रो साटो
ओ ! समाजका गिद्धे आँखाहरु !
जवाफ देउ हाम्रो साटो
ओ ! समाजका फलामे किल्लाहरु !
किन अवहेलना गर्छन् हामीलाई
हरेक आउँदा दिनहरुले ?
किन अस्वीकृत गर्छन् हामीलाई
हरेक आउँदा रातहरुले ?
हामी आफ्नै घर भत्काइ–भत्काइ
अरुका घर बनाई रहन्छौँ
हामी आफ्नै मुटु रित्याइ–रित्याइ
अरुका मुटु भरि रहन्छौँ
हामी आफ्नै जीवन बिगारी–बिगारी
अरुका जीवन सम्हाली रहन्छौँ
तर,
हाम्रो उपलब्धिको पुरस्कारमा
मात्र तिरस्कार पाइरहेछौँ
हाम्रो बलिदानको उपहारमा
मात्र अभिशाप सहिरहेछौँ
बिर्सिदिन्छन् मान्छेले किन…?
हाम्रो अनुपस्थितिले
सुन्दर सृष्टि नै रोकिन सक्छ भनेर !
सम्झिदिन्नन् मान्छेले किन…?
हाम्रो अभावले
सुन्दर ब्रमाण्ड नै कुरुप बन्न सक्छ भनेर !!