Logo

दुई तिहाइले टुंगीयो नाम र राजधानी



बुटवल, असोज २१ । प्रदेश स्थापनाको झण्डै ३१ महिनापछि मंगलबार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाएको छ। बुद्धजन्मस्थल लुम्बिनीको नामबाट प्रदेशको नाम ‘लुम्बिनी’ र भौगोलिक हिसावले १२ जिल्लाको केन्द्रमा पर्ने दाङको राप्ती उपत्यकाको देउखुरी क्षेत्र ‘भालुवाङ’मा स्थायी राजधानी बन्ने भएको हो। मंगलबार सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको दुई तिहाइ मतले स्थायी राजधानी र नाम पारित भएको घोषणा गरे।

गत शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए। सुरुदेखि प्रदेशको नाम राजधानी तोक्न दवाव झेल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीकाबीच नेकपा दुई अध्यक्षलाई दाङ राजधानीका लागि सहमत बनाउन सफल भएपछि प्रदेश सरकारले प्रस्ताव पेस गरेको हो। राजनीतिक छलफल परामर्श या सहमतिको प्रयास नै नगरेको आरोप आफ्नै दलका सांसदको लगाएका छन्।

मंगलबार भएको मतदानमा कुल ८७ सदस्य मध्ये राजधानीका लागि ८२ मत खसेको थियो। दाङका पक्षमा ६९ र विपक्षमा १३ मत खसेको प्रदेशसभा सचिवालले जानकारी दिएको छ। नेकपाका ६०, कांग्रेसका ५, जनता समाजवादीका ४ जना सांसदले दाङको पक्षमा मतदान गरेका थिए। प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद डिल्ली चौधरी, शंकर गिरी, अर्जुनकुमार श्रेष्ठ, भुवनेश्वर चौधरी र याकुव अन्सारीले दाङको पक्षमा मतदान गरेका थिए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्