काठमाडौं, असोज २१ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पूर्वप्रधानमन्त्रीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। अनशनको २३औं दिन पुग्दा समेत केसीसँग वार्ता र उनको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चासो नदेखाएपछि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा नै वार्ताबाट केसीका माग सम्बोधन गर्न र जीनव रक्षाका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले अविलम्ब वार्ता गरी माग पूरा गर्न कति पनि ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन्। उनले सरकारले यस विषयलाई खेलाचीका रुपमा लिए गम्भीर दुष्परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।
सरकारले २०७५ साउनमा केसीसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको भन्दै देउवाले तत्काल वार्तामा बसी माग पूरा गर्न आग्रह गरेका छन्। तर प्रधानमन्त्री ओली भने आफैंले गरेको सो सहमति र अनशनप्रति मौन छन्। केसी चिकित्सा शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्य र सरकारले विगतमा आफूसँग गरेका सम्झौता तत्काल कार्यान्वयन माग राखेर अनशनमा बसेका हुन्।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनालले पनि डा केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्। केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दै गएको बताउँदै खनालले माग पूरा गरी अविलम्ब अनशन तोडाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतासँग सम्बन्धित माग राखेर केसी अनशन बसेको २३औं दिन पुग्दा पनि सरकारले माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि पहल नगरिरहेको अवस्थामा खनालले मुख खोलेका हुन्।
यसैगरी नेकपाका अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले पनि अनशनरत डा। केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। केसीको जीवन रक्षालाई प्राथमिकतामा राखेर तत्काल अनशन अन्त्य गर्ने वातावरण तयार पार्न उनले सरकारलाई आग्रह गरेका हुन्। समस्या समाधानका लागि विगतमा सरकार र केसीबीच भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा नेपालको जोड रहेको आजको नागरिक दैनिकमा खवर छ ।