Logo

अवैध लागूऔषध सहित पक्राउ



काठमाडौं, २२ असोज । अवैध लागूऔषध सहित कृष्ण रायलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड सैनिक मोडबाट ६ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने मिसाइलो पदार्थ सहित सोही स्थानमा बस्ने भारत घर भएका राय पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी मकवानपुर मनहरी गाउँपालिका सिमपानीस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिकाका अनिता मोक्तानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेकी उनलाई जाँच गर्दा झोलामा बोकेको उक्त गाँजा फेला परी पक्राउ गरेको बताएको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिक देउरियाका राज ओझैयालाई १ सय ३१ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।

सर्लाही बागमती नगरपालिका जिरायत चोकबाट करिब १६ किलो अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट जिरायतबाट खटिएको प्रहरीलाई देख्नासाथ बरहथवाबाट कर्मैयातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरुले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्