Logo

कुबेतका नयाँ अमिरद्वारा लोकतन्त्र र शान्तिको प्रतिबद्धता व्यक्त



२२ असोज: खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अल–अहमद अल–सबाहले बिहीबार संसद समक्ष पद तथा गोपनीयताको शपथ लिए । सपथग्रहण समारोहमा सम्बोधन गर्दै अमिर अल–सबाहले लोकतन्त्र र शान्तिप्रति कुवेतको प्रतिबद्धतालाई आफूले सम्मान गर्ने बताए ।

उनले सबै कुबेती नागरिकलाई आआफ्ना मतभिन्नता त्याग्न पनि आग्रह गरे ।

गत साता कुबेती अमिर शेख सबाह अल–अहमदको निधन भएपछि नयाँ अमिरले संसद समक्ष सपथ लिएका हुन् । राजपरम्परा अनुसार नयाँ अमिर छानिए पनि कुबेतको संविधान बमोजिम नयाँ अमिरलाई संसदले नियुक्त गर्ने र संसद समक्ष सपथ लिने व्यवस्था छ ।

शेख मेशाल हाल ८३ वर्षका हुनुहुन्छ । कोभिड–१९ का कारण तेलको मूल्यमा आएको गिरावट एवं छिमेकी मुलुकहरु साउदी अरेबिया र इरानसँग तनावपूर्ण सम्बन्ध रहेका कारण कुबेत सरकारमाथि दबाब छ ।

टेलिभिजनमा दिएको प्रतिक्रियामा नयाँ अमिर शेख मेशालले कुबेतले क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सम्मान गर्ने तथा शान्ति र लोकतान्त्रिक मार्गलाई स्वीकार गर्ने बताएका छन् ।

अरब राष्ट्रहरुमा शासन गरिरहेका अमिरहरुले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरिरहेको अवस्थामा कुबेतमा भने पुरानै पुस्तामा नेतृत्व गएको छ ।

कुबेतमा यसै वर्ष संसदको पनि चुनाब हुँदैछ । कुबेतको सरकारमा सत्तासिन अमिरका परिवारका सदस्यहरुले महत्वपूर्ण मन्त्रालय र पद प्राप्त गरेकोप्रति कुबेतमा असन्तोष बढ्दै गएको छ ।

कुबेतका नयाँ अमिरले नयाँ तेल नीति ल्याउने र विदेश नीतिलाई प्रभावकारी रुपमा संचालन गर्ने विश्वास जनताले गरेका छन् । उनीहरुले साउदी अरेबिया, इरान र इराकसँगको सम्बन्धमा बढी सन्तुलन कायम गर्ने विश्वास पनि लिएका छन् ।–एपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्