ललितपुर, असोज २३ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सानाठूला चारपांग्रे गाडीको नवीकरण, जाँचपास, सवारी पासलगायत कामका लागि दैनिक दुई हजारभन्दा बढी सेवाग्राही पुग्छन् । तर त्यहाँ सामाजिक दूरी भने फिटिक्कै कायम भएको देखिन्न । बेपर्वाह सेवाग्राहीका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण अझै तीव्र गतिमा फैलिने जोखिम बढेको छ ।
यातायात व्यवस्था कार्यालयका सानाठूला सवारी प्रमुख यादवनाथ आचार्य सेवाग्राहीले सामाजिक दूरी कायम नगर्दा संक्रमणको जोखिम उच्च भएको बताउँछन् । ‘कार्यालयले सामाजिक दूरी कायम गर्न जति आग्रह गरे पनि सेवाग्राहीले फिटिक्कै मान्दैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा काम गर्दा हामी पनि उच्च जोखिममा छौं ।’
कोरोनाका कारण यातायात कार्यालय लामो समयसम्म बन्द भएकाले पनि विगतको तुलनामा दैनिक दोब्बरभन्दा धेरै सेवाग्राही आएको आचार्यको भनाइ छ । ‘सामान्य अवस्थामा दैनिक आठ सयजति सेवाग्राही आउँथे,’ उनले भने, ‘अहिले दैनिक दुई हजारभन्दा धेरै सेवाग्राहीलाई सेवा दिइरहेका छौं ।’ चारपांग्रे सवारीसाधन नवीकरण गर्न एकान्तकुना पुगेका अनिल शर्माले सरकारले सवारी नवीकरण दस्तुर कात्तिकभित्र तिर्नुपर्ने नत्र जरिवाना लाग्ने प्रावधान राखेका कारण भीड भएको बताए । ‘सामाजिक दूरी त भन्नेमात्रै हो,’ उनले भने, ‘सरकारले कात्तिकसम्म मात्रै सवारीचालक तथा सवारीसाधन नवीकरणमा विलम्ब शुल्क नलाग्ने भनेकाले भीड भएको हो । सरकारलाई कोरोनाभन्दा करको चिन्ता देखिन्छ ।’
‘सीमित कर्मचारीका कारण चाहेर पनि सहज रूपमा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।’ यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुुधारामा ५५ स्थायी र १४ अस्थायी कर्मचारी छन् । तर सेवाग्राहीको चापअनुसार कार्यालयमा १ सयभन्दा धेरै कर्मचारी आवश्यक भएको कार्यालयले जनायो ।
अहिले सेवाग्राही सवारीसाधनको नवीकरण, जाँचपास, प्रदूषण जाँच, इम्बोस्ड नम्बर प्लेट जडानलगायत कामका लागि यातायात कार्यालय पुग्छन् । कार्यालयले सेवाग्राहीका लागि लाइनमा बस्न गोलो चिह्न लगाउने, साबुनपानी तथा सेनिटाइजरलगायत राख्दै आएको जनाएको छ । ‘हामीले चाहेर पनि भीड नियन्त्रण गर्न सकेका छैनौं,’ आचार्यले भने, ‘जोखिम मोलेरै भए पनि सेवा दिँदै आएका छौं ।’ कार्यालयले प्रदूषण जाँचका लागि भने दैनिक दुई सय कोटा तोकेको जनायो ।
गुर्जुधारामा पनि भीड उस्तै
दुईपांग्रे सवारीसाधानका धनी भने नवीकरणका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुुर्जुधारा काठमाडौंमा पुग्ने गरेका छन् । उक्त कार्यालयका प्रमुख दीपक पोखरेलले पनि कोरोनाको महामारीबीच सेवाग्राहीको चाप बढेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।