काठमाडौं, असोज २३ । नेपालमा बिहीबार कोरोना भाइरसबाट ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन्। यीमध्ये आधाभन्दा बेसी २ हजार ५ सय ४० जना काठमाडौं उपत्यकाका छन्। पछिल्लो १० दिनमा कोरोना संक्रमण झन्डै तेब्बरले बढेको हो। जब कि यही असोज १३ गते ९ सय ३४ जना संक्रमित भएका थिए। यसले झन्डै ५० लाख व्यक्तिको बसोबास रहेको उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह उन्मुख देखाउँछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना संक्रमित थपिएको जानकारी दिए। यही दरमा संक्रमण बढे उपत्यकाका अस्पतालमा शय्या र भेन्टिलेटर अभाव हुने देखिएको छ। प्रवक्ता डा। गौतमका अनुसार उपत्यकाका अस्पतालमा आईसीयू शय्या १ सय ८१ उपलब्ध रहेकामा ४५।३ प्रतिशत भरिएको छ। आईसीयूका ८२ वटा शय्यामा संक्रमितको उपचार भइरहेको छ।
गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरको पनि अभाव हुने सम्भावना बढेको छ। ७६ वटा भेन्टिलेटर उपलब्ध रहेकामा २७ वटा संक्रमितको उपचारमा प्रयोग भएको मन्त्रालयले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।