काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका पुराना नेता रामबाबु प्रसाईंको निधन भएको छ । उनको ९९ वर्षको उमेरमा आज दिउँसो निधन भएको परिवारले जनाएको छ ।
प्रसाईंलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
वि.सं. १९७८ मा ताप्लेजुङको हाङपाङमा जन्मिएका प्रसाईं पछिमात्र झापा झरेका थिए । त्यहाँ उनको धेरै जमिन थियो ।
वीपी कोइरालासँग प्रसाईं नजिक थिए । झापामा धेरै जमिन भएका उनले काँग्रेसलाई अप्ठ्यारो अवस्थामा आर्थिक सहयोग गरेका थिए । उनलाई पार्टीले कोषाध्यक्षको जिम्मेवारी पनि दिएको थियो । आर्थिक मामलामा उनी निकै मितव्ययी थिए । उनलाई पार्टीभित्र खुनपरुदे पनि भनिन्थ्यो ।