काठमाडौं, असोज २४ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा रहेका आन्तरिक समस्या तथा विसङ्गतिलाई समाधान गर्दै छिटै सुधार गर्ने महाप्रबन्धक डिमप्रकाश पौडेलले बताएका छन् ।
बिहीबारमात्रै मन्त्रीपरिषदबाट महाप्रबन्धकमा नियुक्त पौडेलले निगमभित्र अनेकौँ चुनौती रहेकोले रातारात सम्भव नभए पनि क्रमशः सुधार गर्दै लैजाने बताए ।
उनले भने ‘निगममा धेरै विसङ्गति छन् भन्ने सुनेको छु । रातारात परिवर्तन त आउँदैन तर हप्ता दश दिनमा सुधारको सङ्केत आउने छ । एक दुई महिनामा त त देखिने गरी गरौँला भन्ने छ । ’
कोभिडका कारण समग्र पर्यटन तथा नागरिक उड्ययन क्षेत्रमै चुनौती रहेको र निगमको हकमा पहिलेदेखि नै आन्तरिक चुनौती रहेकोले त्यसलाई समाधान गर्ने आफ्नो प्राथमिकता हुने उनको भनाइ छ । कोभिडकै कारण अब थप क्षति नहोस् भन्नेमा ध्यान दिँदै यसबीचमै आन्तरिक सुधारलाई अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
आन्तरिक उडानमा घट्दै गइरहेको निगमको उपस्थितिलाई बलियो बनाउँदै लगिने उनले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
।