Logo

कृषि उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्याइने



काठमाडौँ, २४ असोज: नेपाली कृषि उत्पादन विश्व बजारसम्म पुर्याइने भएको छ । नेपालको अग्र्यानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पुर्याइने तयारी भएको हो । सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ प्यानल छलफलका क्रममा बोल्ने वक्ताहरुले कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने वक्ताहरुले बताए ।

विषादी तथा एन्टिबायोटिकको प्रयोग बढिरहेकामा चिन्ता व्यक्त गर्दै अर्गानिक खेतीमा ध्यान दिनसके स्वदेश तथा विश्व बजारमै बिक्रीको समस्या नहुने वक्ताहरुले उद्घोष गरेका छन् । उद्योगी पवन गोल्यानले कृषि क्षेत्रमा पछिल्लो समयमा प्राथमिकता दिएको बताए । दुईतिहाइ किसान कृषिमै रहेकाले देशको लागि केही गर्न कृषि क्षेत्रमा जोडिएको उनको भनाइ छ । “गाउँगाउँमा गएर अग्र्यानिक खेती पनि सिकाउँदैछौँ”, उनले भने, “विषादी खाद्यवस्तु खाएर धेरै बिरामी परेको अवस्था छ ।”

गोल्यानले २५ वटा गाउँमा अग्र्यानिक जैविक मल र जैविक खेती गरी बिक्री गर्न नसक्ने किसानको वस्तु आफैँ किनिदिने गरेको बताए । बजारीकरण महत्वपूर्ण विषय भएको भन्दै उनले नेपाल र विदेशमा बजारीकरण गर्न ध्यान दिनुपर्ने बताए । एग्रो प्रोसेसिङ इण्डष्ट्रिमा हात हालेर सरकार तथा निजी क्षेत्रले बजारीकरणमा काम गर्नुपर्ने उनले बताए । तालिम दिएर नेपाली श्रमिकलाई दक्ष बनाउनुपर्ने र विदेशी श्रमिक विस्थापित गर्दै जानुपर्ने उनको भनाइ छ ।

सरकारले रिटर्नी माइग्रेनलाई रु १० लाखसम्मको सहुलियत कर्जा बिनाधितो पाँच प्रतिशत ब्याजमा दिने व्यवस्था गरेको छ । एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यानले सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई उद्यमी बनाउन लागिपरेको बताए ।

निम्बस ग्रुपका कार्यकारी निर्देशक दिनेश गौतमले कृषिजन्य वस्तुको निर्यातमा प्राथमिकता दिइरहेको बताए । किसानसँग प्रत्यक्षरूपमा जोडिएर फार्मिङ सञ्चालन गरी कृषिमा प्रत्यक्ष काम गरिरहेको उनले बताए । खाद्यबाली धान, गहुँ र मकैको जिडिपीमा ठूलो योगदान दिएकाले यसको उत्पादन बढाउन सबै जागरुक हुनुपर्ने उनले भनाइ थियो । किसानलाई बजार, बिक्री, कर्जा, ढुवानी, भण्डारण र बीमामा सहयोग गर्न सके कृषि उत्पादन बढ्ने र बजारीकरण हुन थप सघाउ पुग्ने उनको भनाइ छ ।

कञ्चनजङ्गा टि स्टेटका निर्देशक शान्ता कोरोइराला बाँस्कोटाले साना किसानलाई उत्पादनमा जोड्न ध्यान दिएको बताए । उनले अग्र्यानिक उत्पादनको विश्वबजारमा माग बढ्दै गएको बताए । कञ्चनजङ्गा टि स्टेटले सन् २००२ देखि नै अर्गानिक उत्पादन गर्दै आएको छ । “हामी विभिन्न देशको गुणस्तर मापन गरी उत्पादन गर्ने गरेकाले बिक्री समस्या छैन् ।”

नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकारले निर्यातमा सहजीकरण गर्नुपर्छ । व्यापक मात्रामा उत्पादनका लागि लगानी आवश्यक पर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।-रासस



प्रतिक्रिया दिनुहोस्