Logo

कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना



काठमाडौँ, २४ असोज: प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए । केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उहाँले जानकारी दिए ।

“प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ”, उनले भने, “यसपालि कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ ।”

केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उहाँले जानकारी दिए ।

यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जनाइएको छ । प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ । सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने छ । मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमण रोक्ने योजनासमेत बन्नेछ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot