Logo

हिमालय क्षेत्रमा भारत-चीन बढ्दो सैन्य गतिविधिसँगै अमेरिकाको चासो, नेपालमा कस्तो असर पर्ला



समाचार विश्लेषण । अमेरिका, भारत, अष्ट्रेलिया र जापानको एउटा समूह छ जसलाई क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग अर्थात क्वाड भनिन्छ । विश्वका यी चार देशको रणनीतिक फोरमका रुपमा रहेको क्वाड समूहका विदेशमन्त्रीहरुको मङ्गलबार जापानमा बैठक बस्यो । लगत्तै अमेरिकी विदेशमन्त्री माइक पम्पिओको चीनको आलोचना र असन्तुष्टिका अभिव्यक्तिहरु निरन्तर आउन थाल्यो ।

पम्पिओले हिमालय क्षेत्रको भारतसँगको सीमामा चीनले ६० हजार सैनिक तैनाथ गरेको भन्दै खतरा औल्याए । उनले भारतले चीनसँगको पछिल्लो संघर्षमा अमेरिकाको आवश्यकता र साथ औल्याए । उनले भारतका सैनिकसँग चीनका सैनिको भौतिक झडपसमेत उल्लेख गरेर उसले भारतविरुद्ध उत्तरतर्फ ठुलो शक्ति लगाउन थालेको समेत बताए ।
भारत र चीनबीच लदाखलगायत सीमा क्षेत्रमा पटक पटक झडप र विवाद भएपछि दुवै देशले सैन्य शक्ति बढाइरहेका छन् । एक अर्काको सीमा अतिक्रमण गरेको विषय बाहिर आइरहेको छ । सिक्किम र भुटानमा समेत चीनको सीमा विवाद रहेको छ । यसले भारत र चीनबीच सम्बन्धमा समस्या आइरहँदा अमेरिकी भनाईहरु कडा रुपमा आइरहेको छ ।

हिमालय क्षेत्रमा चिनियाँ सैनिकको उपस्थिति बढ्दै गएको छ । जसलाई भारतले गम्भीर रुपमा लिएको छ । त्यसमा अमेरिकाको समेत चासो देखिएको छ । जुन क्वाड विदेशमन्त्रीहरुको बैठकपछि समेत उठ्यो । अमेरिकाले उसमाथि चीनबाट ठुलो खतरा देखेको छ । जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमत्री पम्पिओबाट मात्र नभई उसका एजेन्सीहरुको सार्वजनिक गरिएको रिपोर्टबाट पनि देखिन्छ । अमेरिकाको मित्र देशहरुप्रति चीन आक्रामक बनेको अमेरिकी भनाईहरु सार्वजनिक भइरहेको छ । जसमा भारत पनि पर्दछ ।

पछिल्लो समय भारतको उत्तरी क्षेत्रमा चीनको सैन्य उपस्थिति बढिरहेको छ । नेपालसँग जोडिएको सीमा क्षेत्रमा पनि चिनियाँ सैनिकको बढ्दो उपस्थिति खुलेको छ । हुम्लाको सीमाको विषय उठ्दा चिनियाँ सैनिक सीमा क्षेत्रमा ठुलो संख्यामा देखिएको खुलिसकेको छ । यद्यपि, सरकारले चीनसँग सीमा समस्या नभएको पटक पटक दोहोर्याउँदै आएको छ ।

भारतको चीनसँग सीमा समस्याले सामरिक महत्वको स्थानमा रहेको नेपालमा समेत प्रत्यक्ष अप्रत्यक्ष असर पर्न सक्छ । नेपालमा चीनको बढ्दो चासो र राजनीतिमा उसको प्रभाव खुल्दै गएको छ । अर्कोतर्फ, चीनले उत्तरी सीमा क्षेत्रमा आफ्नो गतिविधि बढाइरहेको छ । जसलाई अमेरिका र भारतले बेवास्ता गरेको पक्कै छैनन् ।

अमेरिका र भारत पछिल्लो समय नजिकिएको परिस्थिति छ । नेपाल मामलामा पनि यी दुई देश झन् नजिकिएको खण्डमा सामरिक महत्वको यो क्षेत्रमा विभिन्न ढंगले टकराव हुनसक्छ ।

यसै पनि अमेरिकी सहयोगसम्बन्धी एमसीसी बहसको विषय बनेको छ । यसलाई अमेरिकाको सैन्य रणनीति अन्र्तगत रहेको भन्दै सत्तारुढ नेकपाका केही नेताहरुले विरोध गर्दै आएका छन् । विभिन्न ढंगले यसमा अलमल गरिदैछ ।

अमेरिकाको चासो, भारत नेपाल मामलामा शतर्कता बढाउँदै गएको अवस्था र चीनको बढ्दो प्रभावका कारण नेपालको आन्तरिक मामलामा शक्ति राष्ट्रहरुको सक्रियता कुनै न कुनै रुपमा बढ्न सक्छ । हिमालय क्षेत्रमा भारत र चीनबीचको टकराव र अमेरिकाको त्यसमा गम्भीर चासोसँगै भारतलाई साथ दिने संकेतले नेपाललाई कुनै न कुनै रुपमा असर पार्दै लाने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot