काठमाडौं, २४ असोज । तराई मधेश वृहत लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले चीनले नेपालको उत्तरी सीमा अतिक्रमण गरेको र सरकारले सीमाना रक्षा गर्न नसकेको आरोप लगाएकी छिन् । उनले भारतको सहयोग लिएर भएपनि सीमाना सुरक्षा गर्नुपर्ने माग गरेकी छिन् ।
‘हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँक्डाले पनि देखाइरहेको छ,’ गिरीले आज प्रेस विज्ञप्तिमार्फत् भनेकी छिन्, ‘सरकार स्वयंले नेपाल चीन बीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भने सरकारले १९५० को भारतसँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिई पनि सीमानाको सुरक्षा गर्न माग गर्दछु ।’
गिरीले सगरमाथामा चीनले आधिपत्य जमाईसकेको भन्दै सरकार निरिह बन्दै गएको आरोप लगाइन् । उनले चीनसँगको सीमानामा रहेको सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोली माथि चिनियाँ सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अनुगमन टोलीमाथि अश्रु ग्याँस प्रहार गरेको भन्दै सरकारलाई आधिकारिक जानकारी गराउन समेत माग गरेकी छिन् ।
चीनले हुम्लालगायत उत्तरी सीमाका कतिपय भूभाग अतिक्रमण गरेको विषय बाहिरिएपछि सीमा अनुगमनका लागि पुगेको विभिन्न टोलीमाथि बल प्रयोग भएको खबर सार्वजनिक भइरहँदा गिरीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।