काठमाडौं २५ आईतबार । जापान सरकारले अनुदानमा दिएको २०१८ मा प्याकिंग गरिएको जापानी चामल विक्री वितरण भईरहेको बेला अनुगमन टोलीले फेला पारेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा २०१८ को र स्पष्ट लेवलिङ नभएका खाद्य बस्तुहरु बिक्री वितरण भइरहेको सूचनाको आधारमा काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले उक्त खाद्य सामाग्री फेला पारेको थियो ।
आइतबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण्समितिको अनुगमन टोलीले कम्पनीको अनुगमन गर्दा अधिकांश खाद्य बस्तुमा उत्पादन मिति र लेवलिङ नै नभेटिएको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक बस्तुको उत्पादन मिति, एमआरपीलगायत स्पष्ट देखिने गरि राखिनुपर्नेमा त्यस्तो नपाइएको अनुगमन टोलीका सदस्य उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए ।
अनुगमनका क्रममा जापान सरकारले अनुदानमा दिएको २०१८ मा बनेको जापानी चामल अझै पनि बिक्रि बितरण भइरहेको पाईएको, व्यपार कम्पनीमा दाल, फापरलगाएतका बस्तुमा पनि लेवलिङ नभएको पाइएको र कम्पनीलाई आवश्यक कारवाहीका लागि सिफारिस गरिने तिमिल्सिनाले जानकारी दिए ।
सहुलियत मूल्य पसलमा चिनीलगाएतका वस्तुको अभाव भएको र खरिद गर्न आएका उपभोक्ताहरु फर्किनुपरेको पनि अनुगमन टोलीले जनाएको छ । Photo By: Mukunda Kalikote/ReportersNepal