Logo

ब्राउनसुगर सहित पक्राउ



काठमाडौं, २६ असोज । अवैध लागूऔषध सहित २ जना आइतबार पक्राउ परेका छन् । मेचीनगर नगरपालिका इँटाभट्टा पेट्रोल पम्प नजिकबाट १ सय ५७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित २ जना आइतबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिकाका सुवाश दर्जी र सोही नगरपालिकाका संजिव राजवंशी रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, सशस्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
यसैगरी पोखराको लेकसाईडबाट विभिन्न नियन्त्रित लागूऔषध सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा लेकसाईड बाराहीमार्गका लक्ष्मण आचार्य, लमजुङ बेसिसहरका नबराज थापा र पोखरा लेकसाईड बाराहीमार्गमा बस्नेसबिन पहारी रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले लक्ष्मण आचार्य र नवराज थापालाई लक्ष्मणको कोठामा शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिई तलासी गर्दा लुकाई राखेको नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ४०एम्पुल, डाईजेपाम ४० एम्पुल, फेनरागन ४० एम्पुल र नाईट्रोभ्याट १ सय २० चक्की सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

साथै अनुसन्धानको क्रममा सबिन पहारीको डेराबाट नियन्त्रित लागूऔषध बुप्रिनर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाएको उक्त व्यूरोले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्