Logo

सप्तरीमा नयाँ नागरिकता वितरण बन्द, कार्यालयहरुको कामकाज प्रभावित



राजविराज, २७ असोज । अत्यधिक सेवाग्राहीको भिडभाड हुने सप्तरीको जिल्ला प्रशासन कार्यालयसहित चार वटा कार्यालयको कामकाज प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नयाँ नागरिकता प्रमाणपत्र सोमबारदेखि अनिश्चितकालको लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार रामले एक सूचना जारी गर्दै सो कार्यालयबाट प्रदान गरिँदै आएको नयाँ नागरिकता प्रमाणपत्रको कार्य बन्द गरेको बताइएको छ ।

नयाँ नागरिकता शाखामा कार्यरत दुई जना कर्मचारीमा कोरोना लक्षण देखिएको उल्लेख गर्दै उहाँले उनीहरुको स्वास्थ्य परीक्षण गराउनुपर्दा अर्को सूचना नभएसम्म नयाँ नागरिकता वितरण कार्य बन्द रहने बताएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अन्य सेवाहरु यथावत रुपमा सञ्चालन रहने सूचनामा बताइएको छ ।

त्यस्तै, राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गत बुधबार दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गत बिहीबार र शुक्रबार दुई दिन कामकाज बन्द गरिएको थियो । आइतबारदेखि सेवा सञ्चालन गर्ने सूचना जारी गरिए पनि सो दिन थप केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्द रह्यो । आज सोमबारदेखि बैंकले सेवा सञ्चालन गरेको बैकका प्रबन्धक उमेश नेपालले जानकारी दिनुभयो ।

यस्तै, कर्मचारी बिरामी पर्न थालेपछि त्रासका कारण गत बुधबारदेखि बन्द भएको भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रवाह हुने सेवाहरु अझैं बन्द छ । पछि कोरोना परीक्षण गर्दा सो कार्यालयका चार जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्दलाई निरन्तरता दिएको छ । गत १० गते मालपोत फाँटका १० जना कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । उनीहरु मध्ये आइतबार दुई जना नायव सुब्वा, एक जना खरिदार र एक जना कम्प्युटर अपरेटर गरी चार जनालाई संक्रमण पुष्टि भएको सूचना अधिकारी शिवहरि पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी, जिल्लाको रुपनी गाउँपालिका कार्यालयका तीन कर्मचारीसहित ११ जनामा कोरोना संक्रमित भएपछि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाह आगामी शुक्रबारसम्म एक साताका लागि बन्द गरिएको छ । सो कार्यालयका कार्यालय सहयोगी दुई जना र अपरेटर सहायक एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी, जनप्रतिनीधिकासाथै उनीहरुसँग जोडिएका व्यक्तिहरुमा सम्भावित संक्रमणको जोखिम रहेकोले परीक्षण गराउनुपर्ने भएको भन्दै एकसाताको लागि कामकाज ठप्प गरिएको छ । तर, अति आवश्यक काम प्रभावित नगर्न बताइएको छ । यसअघि कोरोना संक्रमणका कारण राजगढ गाउँपालिका, अग्नीसाइर कृष्णसवरण गाउँपालिका र कञ्चनरुप नगरपालिकाको कामकाज बन्द गरिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्