Logo

प्रतिनिधि सभा सदस्यसहित ४२ जनालाई कोरोना संक्रमण



राजविराज, २७ असोज । राजविराज–७ निवासी ५८ वर्षीया प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवलाई सोमबार कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणअनुसार पूर्व शिक्षामन्त्रीसमेत रहेकी यादवसहित उनकी २६ वर्षीया बुहारी र चालक राजविराज–७ का २५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

सांसद यादवका छोरा प्रदेश सभा २ का सदस्य अभिषेक यादवलाई आइतबार कोरोना पुष्टि भएपछि परिवारका सदस्य र काम गर्ने कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो। स्वास्थ्य कार्यालयले सोमबार सांसद यादवसहित सप्तरीका ४२ जना नयाँ संक्रमित थपिएको जनाएको छ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार पुनः भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका ४ जना कर्मचारीमा संक्रमित देखिएको छ। संक्रमित हुनेमा राजविराज नगरपालिका–६ का १७ जना, राजविराज नगरपालिका– ७ का १० जना, राजविराज नगरपालिका –९ का ५ जना, खडक नगरपालिका –७ का २ जना, बलान बिहुल गाउँपालिका–२ का ३ जना र बलान बिहुल गाउँपालिका–३ का १ जना रहेका छन्।

योसँगै सप्तरीमा १ हजार ४४३ जना संक्रमित पुगेको छ। जसमा ३ महिलासहित २१ जनाको मृत्यु भएको छ भने १ हजार १२७ जना निको भएको यादवले जानकारी दिए।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबारको परीक्षणमा सप्तरीको निर्वाचन क्षेत्र नम्वर ४ ९ख० बाट निर्वाचित प्रदेश सांसद यादवसहित सप्तरीका २७ जनामा कोरोना संक्रमण देखिएको थियो। रुपनी गाउँपालिका वडा सदस्य, कर्मचारीहरुसहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका ४ जना कर्मचारीसहित राजविराजका ९ जना संक्रमित थपिएका थिए।

स्वास्थ्य कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका छोरा १३ वर्षीय, श्रीमति ३२ वर्षीया र आमा ६२ वर्षीया महिला, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुष संक्रमित भएका थिए। तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारीमा पाँच दिन अघि संक्रमण पुष्टि भएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्