काठमाडौं, २७ असोज । प्राचीन एसियाली सभ्यताको ऐतिहासिक जगबाट उठेको नेपाल अन्तर्राष्ट्रिय समुदायको एउटा महत्वपूर्ण अङ्ग हो । नेपालले आफ्ना दुई सँधियार र सबै राष्ट्रसँग असंलग्न, समदूरी इक्विडिस्टेन्स, समसामीप्य इक्विप्रोक्सिमिटी र पञ्चशील सिद्धान्त लगायतका आधारमा स्वतन्त्र परराष्ट्रनीति सञ्चालन गर्दै आएको छ । राष्ट्रहरूले अन्तर्निभरताको सिद्धान्तलाई व्यवहारमा उतार्नुको अर्थ परनिर्भरतामा सीमित नरही, पारस्परिक सहयोग सद्भाव आदानप्रदान तथा असल छिमेक सम्बन्ध अनुरूप आत्मनिर्भरतातर्फ उन्मुख रहनु हो ।
आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई व्यवहारमा उतार्नुको अर्थ राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता, अविभाज्यता र सार्वभौमिकताको रक्षा गर्दै त्यसभित्र आ–आफ्नो हक, अधिकार र राष्ट्रिय पहिचान सुरक्षित राख्नु हो । शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभको सामाजिक–सांस्कृतिक सिद्धान्तबाट ‘रोटी बेटीको अवधारणा’ आएको पाइन्छ तर यो अवधारणा एकअर्काको सामाजिक–सांस्कृतिक अस्तित्वविरुद्ध विचलन ल्याउन प्रयोगमा आएको होइन ।
अन्तर्राष्ट्रिय सम्बन्धभित्र ताप्लेजुङको झिन्साङचुली, इलामको पशुपतिनगर नगरपालिका, झापाको महेशपुर–केचनाकवल, नवलपरासीको सुस्ता, हुम्लाको हिल्सा, दार्चुलाको व्यास गाउँपालिका, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी–चाँदनीभित्रका अष्टाङ्ग लम्बाकार सीमावर्ती चक्रपथका नेपाली जीवन र जीविका वरिपरि फन्को मार्दै समस्या समाधान गर्न राज्य प्रयत्नरत देखिन्छ । नेपाली सीमावर्ती स्थानीयवासीका स्वास्थ्य, शिक्षा, खाद्य, सुरक्षा, रोजगारका निम्ति राज्य अझै चनाखो बन्दैछ । अपितु, सीमावर्ती मित्रराष्ट्रका स्थानीयवासीको आँखाअगाडि उभिँदा समृद्ध, सुखी, स्वाभिमान नेपाली भएर शीर उच्च राख्नसक्ने बनाउन अझै धेरै काम गर्न बाँकी छ । नेपाल समृद्ध हुँदा नै सँधियार मित्रराष्ट्रको शाख उँचो हुन्छ । एसियाकै स्तर माथि उठ्छ, यो कोणबाट ‘रोटी बेटीको सम्बन्ध’ अगाडि बढेको देखिन्छ ।
परनिर्भरताले दीर्घकालीनरूपमा गरिबी निवारण गर्न सक्दैन । जबसम्म आत्मनिर्भरताका लागि अपनत्व ग्रहण गर्ने खालको राष्ट्रिय विधि, प्रविधि, शिक्षा पद्धतिलाई इमानदारपूर्वक स्वदेशी माटोमा उत्पादन गरी ज्ञान, सेवा र वस्तु वितरण, हस्तान्तरण गर्न सकिँदैन तबसम्म ठूलो सङ्ख्यामा स्वावलम्बी देशभक्त तयार गर्न अझै दशकौं लाग्न सक्छ । राष्ट्रहरू साना वा ठूला हुन सक्छन् तर सबैको सार्वभौम शक्ति बराबर हुन्छ भन्ने सैद्धान्तिक मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय समुदायमाझ परस्परमा ‘रोटी बेटी सम्बन्ध’ स्थापित हुँदै आएको छ । चीन–नेपाल–भारत त्रिदेशीय परम्परागत सम्बन्धमा आ–आफ्नो सार्वभौमसत्तालाई बलियो बनाउने उपायका रूपमा वैवाहिक कूटनीतिक सम्बन्धमा जोड दिने गरेको पाइन्थ्यो ।
जस्तैः भृकुटी र भोटका राजा स्रङचङगम्पोको वैवाहिक सम्बन्ध, भोगादेवी र भारतका राजा शूरसेनको वैवाहिक सम्बन्ध आदि । नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध सौहार्दपूर्ण रहेजस्तै नेपाल र चीनबीच पनि रोटी बेटीको सम्बन्ध सौहार्दपूर्ण रहिआएको पाइन्छ । मामिला अध्ययन नं.१: अंशुवर्माको देहान्त सन् ६२१ मा पेतेक लुच्यानो, नेपाली चित्तरञ्जन, वि.सं.२०६०, ‘तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू’, काठमाण्डौ: तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठान, पृ.ख भएको पाइन्छ । उदयदेवकी छोरी भृकुटी (ऐजन, पृ.ख) को तिब्बतका राजा स्रङचङ गम्पोसँग सन् ६३३ मा तोङफान लियाओ, सन २०१५, ‘दि एनेक्डटस् एबाउट ल्हासा’, पेइचिङ: चाइना तिबेतोलोजी पब्लिसिङ् हाउस, पृ.२२० सम्पन्न भएको अर्थात अंशुवर्माको देहान्त भएको करिब १२ वर्षपछि सो विवाह भएको तथ्य इतिहासले देखाउँछ ।
यसै सिलसिलामा तिब्बती राजा गम्पोले नेपाली राजकुमारी भृकुटी र चिनियाँ सम्राट ताइजोङककी छोरी राजकुमारी कोङचो अर्थात वेङछेङसँग सन् ६४१ मा विवाह गर्ने क्रममा नेपालको काठमाडां र तत्कालीन चीनको राजधानी सियानमा दुलही लिन गएको जन्ती मार्गलाई फराकिलो बनाई लस्करै जन्ती हिँड्ने बाटो ‘क्याराभान’ निर्माण गरेको पाइन्छ श्रेष्ठ हिरण्यलाल, सन् २०१७, ‘हिमाल छिचोल्ने रेशम मार्ग’, भक्तपुर हिरण्य अन्तर्राष्ट्रिय मैत्री पुस्तकालय, पृ.११–१२० । यो ऐतिहासिक प्रमाणलाई स्मरण गर्दै एसिया प्रशान्त क्षेत्रका अनुसन्धानकर्ता एवम् नेपालविद् प्राध्यापक वाङ होवीका अनुसार भृकुटी र स्रङचङगम्पोको यो विवाहमा ठूलो सङ्ख्यामा जन्ती पठाए र नेपाली जनताले टाढासम्म राजकुमारी भृकुटीलाई बिदाइ गर्न गए । यो घटनाले नेपाल र तिब्बतबीचको बाटो व्यवस्थित भई चीनको अन्तर्राष्ट्रिय सीमाको दक्षिण–पश्चिम क्षेत्रमा तिब्बत तुवो–नेपाल सडक स्थापना भयो ।
त्यसैगरी गम्पोको दोस्रो विवाह वेङछेङसँग गर्ने क्रममा गान्सुदेखि छिङ्घाइ भएर तिब्बतसम्मको बाटो ‘तुवो–नेपाल बाटो’ उत्तरी भागमा जोडिएर उपयोगमा आएको र ‘तुवो–नेपाल सडक’ खुलेपछि बुद्धधर्मको अध्ययन गर्न जाने भिक्षुहरू, राज्यका दूतहरूले चीन र दक्षिण एसियाली मुलुकमा समय बचत हुने छोटो बाटोको प्रयोग गर्नथालेबाट चीन र दक्षिण एसियाका मुलुकसँग जनस्तरमा सांस्कृतिक–आर्थिक सम्बन्ध कायम रहेको वाङ होवीले जनाएका छन् ऐजन, पृ.१३ । यो वैवाहिक सम्बन्धले चीनको प्राचीन रेशम व्यापारिक केन्द्र सियानबाट ल्हासा र ल्हासाबाट नेपाललाई जोडेको पाइन्छ । यसरी यो सम्बन्धले नेपाल–चीन दुईदेशीय पारस्परिक राजनीतिक हस्तक्षेपलाई निरुत्साहित गरी, ‘सांस्कृतिक–आर्थिक–सामाजिक सम्बन्ध’ आदानप्रदानको सिद्धान्त र नीतिमाथि जोड दिँदै आएको देखिन्छ ।
मामिला अध्ययन नं.२ : चीन तिब्बत मा व्यापार गर्दै आएको नेपाली विवाहित व्यापारीले आफ्नी नेपाली श्रीमतीलाई चीन तिब्बत मा लैजान नपाउने तर चीन ९तिब्बत० मा तिब्बती महिलासँग विवाह गर्न पाउने परम्परागत प्रावधान रहिआएको पाइन्छ । तिब्बतका नेपाली व्यापारी ‘सोदर’ ले तिब्बती केटीसँग विवाह गरेपछि आफ्नी तिब्बती श्रीमती ‘गनकन’ बाट जन्मेका सन्तानलाई नेपाल ल्याउन पाउँदैनथे तर हाल यो व्यवस्थामा केही परिवर्तन गरी नेपाली कानुनअनुसार यस्ता बालिबालिका नेपालमा पनि बसोबास गर्न पाउने व्यवस्था छ ।
तोङफान लिआओ, सन २००८, दि एनेक्डटस् एबाउट ल्हासा, पेइचिङः करेन्ट पब्लिकेसन प्रा।लि।चाइना तिब्बतोलोजी पब्लिसिङ हाउस, पृ.१९४० । मामिला अध्ययन नं.३ः दक्षिणी नेपालको मधेश तराइ र मित्रराष्ट्र भारत वारिपारि फाँटिला सीमावर्ती क्षेत्रमा हिन्दू संस्कार अनुरूप ‘फागु’ तथा ‘छठ’ पर्वले सामाजिक–सांस्कृतिक सम्बन्धलाई सुमधुर बनाउँदै आएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।