Logo

आगो फुक्ने फलामको ढुंग्रोले हानी हत्या



काठमाडौं, २७ असोज । कुटपिट गरी हत्या गरेको अभियोगमा कृष्ण परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुतलीबजारका मन कुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पुतलीबजार बस्ने गुल्मी घर भएका परियार पक्राउ परेका हुन् ।

सोही नगरपालिकास्थित नेपाल टेलिकमको कम्पाउण्ड नजिक बालमन्दिरबाट पुतलीखेत जाने ठाडो बाटोको किनारमा मनकुमारी घाइते अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले मनकुमारीलाई उपचारका लागि जिल्ला अस्पताल स्याङजातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा कृष्णले आइतबार साँझ मनकुमारीलाई कुटपिट गरी घाइते बनाई फरार भएको खुल्न आएपश्चात उक्त घटनामा संलग्न कृष्णलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनीमाथि सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट २५ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकमा आफ्नै छोरा ३० वर्षीय पेम्बाछिरीङ तामाङलाई आगो फुक्ने फलामको ढुंग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी माथिल्लो चिम्लिङका छिरीङ लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी झै–झगडा हुँदा छिरीङ तामाङले ढुंग्रो प्रहार गर्दा गम्भीर घाइते भएका पेम्बाछिरीङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्