काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई काठमाडौं बोलाएका छन् । कर्णाली प्रदेशमा पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाही र नेता यामलाल कँडेललाई तत्काल काठमाडौं आउन निर्देशन दिएका हुन् । आज अपरान्ह अध्यक्षद्धय ओली र दाहालबीचको छलफलपछि शाही र कँडेललाई काठमाडौं बोलाईएको नेकपा स्रोतले जनाएको छ ।
कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता शाहीको विरुद्धमा आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएका थिए । शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेमा ओली पक्षधर नेता कँडेलले नेतृत्वदायी भूमिका खेलेका थिए । तर, दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु एक भएपछि शाहीकै पक्षमा बहुमत पुगेको छ । योसँगै शाहीको पद समेत जोगिएको छ । शाहीको पक्षमा नेकपाका २० जना सांसद उभिएका छन्।File Photo/ReportersNepal