काठमाडौं, २८ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका नेता यमलाल कँडेलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव थाती राखिएको बताएका छन् । केन्द्रबाट अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले निर्देशन दिएपछि उक्त अविश्वासको प्रस्ताव स्थगित् गरिएको कँडेलको भनाई छ । उनले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे अब काठमाडौंमा छलफल हुने जनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अहिलेपनि ज्युँको त्यहीँ रहेको सुनाए ।