Logo

औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन



दमौली, २९ असोज: तनहुँको बन्दीपुर गाउँपालिका–१ भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा घरेलु उद्योग विकास समितिका अध्यक्ष सहितको टोलीले उक्त ठाउँको अवलोकन गरेको हो ।

‘एक पालिका एक औद्योगिक ग्राम’ बनाउने सरकारको नीति बमोजिम बन्दीपुर गाउँपालिकाले उक्त स्थानमा औद्योगिक ग्राम बनाउन सिफारिस गरिएकाले सो स्थलको अवलोकन गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । उनका अनुसार औद्योगिक ग्राम स्थापनाका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रू एक करोड बजेट विनियोजन गरेको छ । सो कार्यका लागि भुडाटारमा रहेको ५० रोपनी सार्वजनिक जग्गा पहिचान गरिएको थियो ।

छरिएर रहेका साना उद्योगहरूलाई एकीकृत गरी व्यवस्थित गर्न सरकारले एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम ल्याएको थियो । औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा चार रोपनी र तराई क्षेत्रमा सात बिघा जग्गा हुनुपर्ने मापदण्ड छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्