Logo

प्रचण्ड ओलीसामु निरिह कि आँधी आउनुअघिको सन्नाटा ?



समाचार विश्लेषण । वृहत शान्ति सम्झौताका बखत सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोही नेकपा माओवादीका तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्दा केपी शर्मा ओली पछिल्तिरको कुर्सीमा टुलुटुलु हेरेर बसेको देखिन्थे । माओवादीका कडा आलोचक ओलीले प्रचण्डलाई उखान र टुक्काले व्यङ्ग्य गरिरहन्थे । तर, त्यतिबेला ओलीले प्रचण्डको रौं पनि हल्लाउन सकेका थिएनन् । प्रचण्ड त्यो हदसम्म बलिया थिए ।

शान्ति प्रक्रियाका दौरान प्रचण्डले त्यतिबेलाका शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हैरान पारिरहन्थे । नेपाली राजनीतिक शिखरपुरुष कोइरालालाई घेराबन्दीमा पार्ने देखि कमजोर बनाउने सम्म गर्न सकेका थिए प्रचण्डले । कोइरालालाई राष्ट्रपति बन्नबाट प्रचण्डले नै रोकेका थिए । त्यसलाई उनले राजनीतिक जीवनको एउटा गल्ती भनेका छन् ।

नेपाली काँग्रेसले प्रजातन्त्र र राजसंस्थाका मान्दै आएकोमा प्रचण्डले कोइरालालाई समेत मनाएर गणतन्त्रमा जाने अवस्था बनाउन सके । संघीयता र धर्मनीरपेक्षतासहितको संविधान पछि मात्र जारी भएको हो । गणतन्त्र घोषणा कोइराला जिवितै छँदा भएको थियो । यसरी प्रचण्ड नेपाली राजनीतिको केन्द्रमा आइपुगे । उनले गिरिजाप्रसाद कोइरालाको दुई दशकयता नेपाली राजनीतिको केन्द्रमा रहेको अवस्थालाई तोडेर आफ्नो स्थान बनाए ।

यो हदसम्मको चतुर प्रचण्डले जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिक मूलधारमा आउँदा बलियो पकड बनाउन सके । पहिलो संविधानसभा चुनावमा सानदार जीत हासिल गरी प्रधानमन्त्री बने । दोस्रो संविधानसभा चुनावमा माओवादी तेस्रो स्थानमा पुग्दा पनि प्रचण्डका शान र शक्तिमा कमी आएन । उनी प्रधानमन्त्री बन्ने र बनाउने साँचो घुमाउने अवस्थामा रहे ।

तर, तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको गजबको एकता बन्यो । राजनीतिक जीवनमा सधै भिन्न विचार र स्वभावका ओली र प्रचण्डको मेल धेरैका लागि आश्चर्यको विषय थियो । प्रचण्ड निकट केही नेताहरुले नै यसको खुलेर विरोध गरे । तर, प्रचण्डले एमालेसँग चुनावी गठबन्धन हुँदै पार्टी एकता गर्न ओलीसँग हातेमालो गरे । ओलीसँग आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति गरे । सायद उनलाई आधा कार्यकालपछि प्रधानमन्त्री बनेर नेकपाको अध्यक्ष समेत बन्न सकिन्छ भन्ने लागेको थियो होला । तर, परिस्थिति उनले सोचे अनुरुप बढेन ।

ओलीले आधा कार्यकालपछि सत्ता छाडेनन् । प्रचण्डले नै भद्र सहमतिबाट पछि हटेको घोषणा गर्न पुगे । उनी ओलीको निर्णय सामु निरिह बन्दै गए । दुईपटक ओलीलाई सत्ताबाट हटाउने प्रयास गरे । तर, विफल भए । संविधानमा राजनीतिक दलसम्बन्धी व्यवस्था र निर्वाचन आयोगको पार्टी फुटाउने प्रावधान प्रचण्डका लागि भन्दा ओलीकै लागि लाभदायक देखियो । पार्टी ओलीले मात्र फुटाउन सक्ने परिस्थिति बन्यो । एकताको पाँचवर्षयता पार्टी फुटाउन नमिल्ने निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी व्यवस्था विद्यमान छ । यसकारण पनि ओलीले मात्र अध्यादेश ल्याएर पार्टी फुटाउन सक्नेबाहेक विकल्प छैन । प्रचण्डले कि त ओलीसामु निरिह भएर बस्नुपर्छ कि त संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्नुपर्छ । त्यो क्षमता उनीसँग देखिएन ।

ओलीले उल्टै प्रचण्डका विश्वासपात्रहरुलाई आफू नजिक बनाए । मन्त्री भइसकेका प्रचण्ड निकटस्थहरु ओलीका नजिक पुगे । सरकार सञ्चालनमा प्रचण्डलाई पुरै बेवास्ता गर्न थाले । प्रचण्ड निकटस्थहरु मन्त्री भएको मन्त्रालयमा प्रचण्डको निर्णय चल्न छाडेको छ । यसरी ओलीको घेराबन्दीमा प्रचण्ड परेको देखिदैछ । उनी निरिह बन्दै गएका छन् ।
प्रचण्डले जतिसुकै बालुवाटार पुगेर ओलीसँग दिनहुँ भेटवार्ता गरेपनि टेर्नेवाला देखिदैनन् । बरु उनले मीठो गफमा अल्मलाएर पठाउने गरेका छन् । ‘मैं हुँ भन्ने’ राजनीतिज्ञलाई घुमाउन सक्ने प्रचण्ड आजकल निरिह बन्न थालेका छन् । यसले उनका निकटस्थहरुलाई समेत आश्चर्यमा पारेको छ । प्रचण्ड पिंजडामा थुनिएका बाघ जस्तै भएका छन् । अब उनीसँग पिंजडा तोड्ने या निरिह भई दयाले दिएको आहार खानेबाहेक विकल्प छैन ।

प्रचण्ड जनयुद्धमा भन्दा पनि जटिल मोडमा पुगेका छन् । उनले सार्वजनिक रुपमा त्यसै भनेका होइनन् कि युद्धका समयमा दुश्मनलाई जितेजस्तो लाग्दा उल्टै झुक्काएर क्षति पुर्याइदिन्थे । तर, फेरि धेर्यता र सुझबुझका साथ उठेर सानदार रुपमा युद्ध जितिन्थ्यो । यसपटक प्रचण्डले ओलीसँगको संघर्षमा यस्तै जीत हासिल गर्न भने कठिन छ ।
प्रचण्ड युद्ध लडेर शान्तिपूर्ण राजनीतिक मूलधारमार्फत् चुनाव जितेर सत्तामा पुगेका नेता हुन् । उनी जति भावुक देखिन्छन् उति कठोर पनि हुन् । प्रचण्डको यही चरित्र फेरि जागृत हुनसक्छ । उनको अहिलेको नरमपना या मौनतालाई आँधी अघिको सन्नाटा मान्नुपर्ने हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्