Logo

‘हामीले लकडाउन गर्ने कुरा गरेका छैनौं, त्यो स्थानीय प्रशासनले निर्णय गर्ने कुरा हो’ : डा. खेम कार्की



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले लकडाउन गर्ने वा नगर्ने भन्नेबारे अहिले आफूहरुले त्यसरी कुरा नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने,‘अहिले हामीले त्यसरी कुराहरू गरेका छैनौँ । अहिले हाम्रो संक्रामक रोग ऐन–२०२० प्रयोग गरी स्थानीय प्रशासन अधिकारीहरूलाई यो अधिकार प्रत्योजन गरिएको हुनाले स्थानीय प्रशासनले आफु बसेर कहाँ कहाँ निषेधाज्ञा गर्ने ? लकडाउन गर्ने, नगर्ने भन्ने कुराहरू उहाँले निर्णय गर्नेगरी संघीय सरकारको तर्फबाट त्यो खालको सोच अहिले छैन । बन्दाबन्दी गर्ने भन्ने कुराहरू छैनन् ।’ त्यसोभए बन्दाबन्दी हुँदैन ? दशैँ–तिहारमा खुल्ला हुन्छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘त्यो के छ भने स्थानीय प्रशासनले निर्णय गर्ने कुरा हो ।’ प्रस्तुत छ डा. कार्कीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना संक्रमण ह्वात्तै बढेको छ । स्थिति अस्तभयो नि, भयावह स्थिति आयो नि ? सरकार त असफल भयो, किन ? भन्नुहोस् त । के कारणले ? कोरोना नियन्त्रणको लागि सरकार कहाँ चुक्यो ?

कोरोनाको संक्रमणको संख्या बढ्यो । यो नेपालमा मात्र बढेको होइन, विश्वव्यापी रूपमा बढेको हो । नेपालमा मात्रै भएको होइन, संसारभरि भएको हो । त्यसैले संसारका एकदमै ठुला–ठुला शक्तिशाली राष्ट्रहरूदेखि लिएर राज्यका प्रणाली एकदमै मजबुत भएका राष्ट्रहरूमा पनि संख्या हेर्नुभयो भने पनि यही ढंगले संख्या बढेको छ । त्यसैले सरकार असफल भयो अथवा स्वास्थ्य प्रणाली असफल भयो भन्नुभन्दा अगाडि यो विश्वव्यापी महामारी हो ।

होइन, भयावह स्थिति आयो, जताततै अस्तव्यस्त छ । उपचार पाएका छैनन्, जनता यतिखेर । औषधी छैन ।  अनि तपाईँहरु के हेरेर बस्नुभएको छ ? 

यो कस्तो भने मान्छेहरूमा बढी आतंक छ, म त अलि बढी नजिकबाट हेरिरहेको छु । अधिकांश मान्छेह्ररुलाई कोरोना पोजिटिभ हुने बित्तिकै उसलाई आई.सी.यु चाहिएको छ । कोरोना पोजिटिभ हुने बित्तिकै आई.सी.यु चाहिँदैन । आई.सी.यु चाहिने निश्चित मान्छेहरूलाई मात्र आई.सी.यु चाहिन्छ ।

होइन कहाँ गएर उपचार गर्ने त आई.सी.यु नहुँदाखेरि ? संक्रमित जनता त पीडामा छन् नि ? तपाईँहरु के हेरेर बस्नुभएको छ ?

त्यो के छ भने अहिले अस्पतालका बेड जहाँनेर सामान्य लक्षण भएका विरामीहरू राख्ने भनेर हामीले भनेका छौँ, त्यस्तो बेडहरूमा अहिले हामीसँग बीस हजारभन्दा बढी बेडहरूमा मान्छेहरू त्यहाँ त्यसरी अस्पतालमा गएर बसेका छैनन् । घरघरमा नै आईसोलेसनमा बसेका छन्, धेरै मान्छेहरू । त्यसैले यो के छ भने हामीले यसलाई एकदमै भयावह बनाएर प्रस्तुत गरेको हुनाले मानिसहरूलाई एक खालको आतंक भयो । तर हामीले साँच्चै प्रणालीको हिसाबले वा अहिले जे कुराहरू हाम्रो यथार्थमा छ, त्यो यथार्थलाई हेर्दाखेरि त्यस्तो भयवित, आतंकित भएर बस्नुपर्ने स्थिति होइन । तर मान्छेको के भयो भने भोलि म विरामी भएँ भने औषधी, आई.सी.यु, भेन्टिलेटर हुँदैन कि ? भन्ने खालको त्यो खालको एउटा त्रासले मान्छेहरूलाई एकदम बढी गाँजेको जस्तो मैले बुझेको छु । तर त्यस्तो स्थिति अहिले जसरी प्रस्तुत भईरहेको छ, त्यस्तो स्थिति होइन ।

होइन स्थिति जटिल छ, तपाईँले कसरी हेर्नुभएको छ, स्वास्थ्य मन्त्रालयमा बसेर ? अनुसन्धान, छलफल गर्नुहुन्छ, तपाईँहरू कसरी जाने भनेर रणनीति पनि बनाउनुहुन्छ । तर, सबै कुरा असफल भयो नि त । किनभने अस्पतालमा आज बेड, आई.सी.यु, भेन्टिलेटर छैन । उपचार कहाँ गर्ने, हेर्नुहोस् समस्या !

यो त स्वभाविक हो । यो महामारीको हामीले नेपालमा मात्रै अलग्गै छुट्याए्र हेर्ने कुरा होइन नि । विश्वव्यापी रूपमा बेलायतमा नै आज बीस÷पच्चीस हजार मान्छेहरू संक्रमित भएका छन् । भारतमा पैसट्ठी हजारभन्दा बढी मान्छेहरू संक्रमित भएका छन् । अब यु.एस.ए. मा त कुरा नै नगरौँ । त्यसो भएको हुनाले अब यो विश्वव्यापी एउटा महामारी हो । सय वर्ष अगाडि यस्तै खालको महामारी भएको थियो । अहिले त्यही खालको महामारी भएको छ । यसमा हामीले भरमग्दुर प्रयत्नहरू गरेका छौँ । हाम्रो प्रणाली, हाम्रो साधन, स्रोत, यी सबै चीजहरू त आँखा अगाडि छन् नि । त्यो संरचनामा यो खालको साधन, स्रोतहरूमा जे खालको व्यवस्थापन गरेर हामीले कम गर्ने प्रयत्नमा आईरहेका छौँ, तुलनात्मक रूपमा अरू देशहरूमा भन्दा हाम्रो देशमा कम छ नि । तर के छ भने यो महामारी नै यस्तो खालको हो, कोरोना भाईरसको विस्तृत के गर्छ, कसरी जान्छ ? यसको उतारचढाव के हुन्छ ? भन्ने कुरा नै निश्चित नभएको हुनाले संसारभरि यो कसरी जाने ? भन्ने कुराहरूमा एक खालको अहिले पनि दुविधा छ । अब हिजो हामीले के भन्यौँ भने भाईरस भनेको यो चिसो महिनामा अलिकति बढी हुन्छ, गर्मी महिना लागेपछि यो भाईरस विस्तारै कम हुँदै जान्छ । किनभने तातोमा भाईरस फैलिँदैन भन्ने हाम्रो सिद्धान्त थियो तर कोरोनाले त्यसलाई च्यालेन्ज गरिदियो । हामीले विश्वास गरेको कुराहरूलाई भत्काईदियो । अब अहिले गर्मी महिनामा एकदमै बढेर गयो, अब ठीक यो अगस्ट, सेप्टेम्बर, अक्टुबरतिर आईसकेपछि त झन् यसले पिक लियो । अब नोभेम्बर, डिसेम्बरमा के हुन्छ, हामीलाई थाहा छैन ।

अब दशैँ सुरु भयो, तिहार आउँदै छ । चाडपर्वमा जताततै जनस्वास्थ्य मापदण्डको उल्लंघन भएको छ । अनि तपाईँहरूले न जनतालाई सचेत बनाउन सक्नुभयो न जनतालाई आग्रह गर्न सक्नुभयो न जनताले तपाईँहरूले भनेको कुरा माने । अब सरकार असफल भयो भनेर तपाईँ भन्न सक्नुहुन्छ ?

होइन होइन । यस्तो कुरा भयो । रिङ्गटोन, कलर टोनमा हामीले म्यासेज राखेको अधिकांश मान्छेको प्रेसर के छ भने यो कोरोनाको ज्यादा तपाईँहरूले सूचना दिनुभयो, रिङ्गटोन बन्द गर्नुहोस्, बिफ्रिङ्ग बन्द गर्नुहोस्, कोरोनाको कुरा गर्नै बन्द गरिदिनुहोस् भन्ने खालको मान्छेको संँख्या बढेको छ ।

आतंकित भए नि त, जनता । जहिल्यै पनि कोरोना कोरोना ! जनतामा सन्त्रास छ नि त फेरि ?

त्यति गरेपछि उहाँहरूले मास्क त लगाउनुपर्छ नि । अहिले तपाईँ बजारमा जानुभयो भने अधिकांश मानिसहरूले मास्क लगाएका छैनन् । मास्क नलगाईकन र दूरी कायम नगरीकन संसारभरि हामीले यो महाममारीलाई नियन्त्रण गर्न सकिरहेका छैनौँ । अहिलेसम्मको कोरोना महामारीको नियन्त्रण भनेको मास्क लगाईदिनुपर्छ, नाक र मुख छोपिनेगरी । त्यस पछाडि भौतिक दूरी कायम गर्नुपर्छ, हात सफा गर्नुपर्छ । योभन्दा बाहेक त छैन । यसमा हामीले गरेको अध्ययनमा अहिले के देखिन्छ भने ९५ प्रतिशतभन्दा बढी मान्छेहरूलाई यो तीनओटा तरिकाले मात्रै कोरोना नियन्त्रण हुनसक्छ भन्ने कुराहरूको जानकारी भएको छ तर प्रयोग कतिले गरेका छन् भन्दाखेरि प्रयोग हाराहारी ३० देखि ४० प्रतिशतले मात्रै गरेका छन् । यो त व्यवहार परिवर्तनको विषयमा हामीले सरकारले भनेको कुराहरू मान्नुहुँदैन भन्ने मानसिकताबाट हामी अगाडि बढ्यौँ । यो त सरकारले भनेको कुराहरू मान्नुपर्छ भन्ने जुन जुन देशहरू छन्, त्यहाँ बढी संक्रमण छैन । तपाईँले चीनमा हेर्नुहोस् । चीनमा सरकारले त्यत्रो नयाँ वर्ष, चाडपर्व, सरकारले भन्यो, तिमीहरूले चाडपर्व अर्को वर्ष मनाउन पाउँछौँ, यसपालि तिमीहरू चाडपर्व नमान भन्दाखेरि खुरुक्क घरमा बसे नि त मान्छे । तर हाम्रा नागरिकहरू किन बस्दैनन् ? अहिले हाम्रो सरकार विरोधी, सरकारले भनेको कुरा त मान्नै हुँदैन भन्ने खालको कुराले हामीलाई अप्ठ्यारो पारेको हो । यो सरकार, गैरसरकार, प्रतिपक्ष वा कुनै अरू व्यक्तिको विषय होइन, यो त विश्वव्यापी महामारीको विषय हो । नागरिकहरूले जतिबेलासम्म म आफै सुरक्षित हुनुपर्छ, मेरो मुखमा मास्क लगाईदिने सरकारको जिम्मेवारी होइन, मैले आफैले लगाउनुपर्छ । मेरो हात धोईदिने सरकारको मान्छेले होइन, मैले आफैले धुनुपर्छ । यो भौतिक दूरी कायम गर्ने कुराहरू हरेक ठाउँमा प्रहरी प्रशासनले मात्रै गर्ने होइन, मैले गर्नुपर्छ भनेर जुन अनुशासन र जीवनशैली परिवर्तनको विषयको रूपमा जतिबेलासम्म नागरिकले यो कुराहरू बुझ्नुहुन्न, त्यतिबेलासम्म हामीलाई महामारी नियन्त्रणमा सरकारको स्वास्थ्यको सिस्टम एकदमै बलियो भए पनि यो कुरा नियन्त्रण गर्न सक्ने स्थिति छैन ।

नयाँ मान्छेलाई तपाईँहरूले क्वारेन्टाइनमा राख्ने भनेर भन्नुभएको छ, धेरै मान्छेहरू आवतजावत गरिरहेका छन् । बाहिर विदेशबाट आईरहेका छन् । अब विदेशीहरू पनि आउँदै छन् । पर्यटकहरूको लागि पनि तपाईँहरूले खुल्ला गरिदिनुभयो । आउनुहोस् भनेर भन्नुभएको छ । यसले कोरोना संक्रमण निम्त्याउँदैन ?

के छ भने हामीले कति समयसम्म यो लकडाउनकै कारणले बन्दाबन्दी नै गरेर बसिराख्ने भन्ने कुरा व्यापक रूपमा जनताको लेभलमा आयो नि । अनशन नै बसे नि, कोही मान्छे त । लकडाउन खुल्नुपर्छ भनेर अनशन नै बसे नि । त्यसो भएको हुनाले जनताको आर्थिक, सामाजिक जीवन डामाडोल हुने भयो भन्ने भईसकेपछि संसारभरि नै बन्दाबन्दीले खासै प्रभाव पार्ने स्थिति देखिएन । किनभने जतिबेलासम्म संक्रमण आएको थिएन, त्यतिबेलासम्म यो बन्दाबन्दीले प्रभाव पारेको थियो नै । तर जब यो संक्रमण घरघर, गाउँगाउँमा पुगिसक्यो, स्थानीय स्तरमा त्यसको संक्रमण फैलियो, त्यसपछि यो बन्दाबन्दी, लकडाउन, निषेधाज्ञा खासै प्रभाव रहँदैन जनस्वास्थ्यको हिसाबले । अहिले प्रभावकारी हुने भनेको त के हो भने त्यही कुराहरू हुन् । सामाजिक दुरी, मास्क लगाउने र हातको सरसफाई गर्ने, यो तीनओटा कुराहरूभन्दा अर्को कुराबाट हामीले अहिलेको महामारीमा खासै प्रभाव पार्न सक्ने स्थिति छैन । त्यसो भएको हुनाले अहिले हामीले त्यतातिर जनतालाई प्रभावकारी ढंगले परिचालन गर्ने, स्थानीय सरकार, स्थानीय जनस्वास्थ्य संस्थाहरू, स्थानीय क्लब, स्काउट, स्वयंसेवक सबैलाई परिचालन गरेर हामीेले त्यो खालको व्यवहार परिवर्तनको लागि रि–ईन्फोर्समेन्टको कुरामा हामी लागि नै रहेका छौँ । त्यही समयमा हामीले के गरिरहेका छौँ भन्दाखेरि अस्पतालको अहिलेको सामान्य बेडहरूमा संक्रमणको संख्या थोरै छ । ती जनरल बेडहरूलाई हामीले हाई डिपेन्डेट युनिट भनेर यो अलिकति बढी अक्सिजन हुन्छ ।

अक्सिजनको अभाव छ । भेन्टिलेटर, आई.सी.यु छैन नि ? 

यो कसैले लेख्दैमा हुँदैन नि । हामीले त अस्पताल–अस्पतालमा गएर हेरिरहेका छौँ । त्यस्तो अक्सिजन, भेन्टिलेटर नै अभाव भएको कुरा होइन यो । मान्छेले जे भनेर बुझिरहेको छ नि, भेन्टिलेटरमा गईसकेपछि ठीक हुन्छ भन्ने खालको, यो कोरोनाको सन्त्रासमा अन्तर्राष्ट्रिय अनुभव के भयो भने जे भेन्टिलेटर हामीले भनिरहेका छौँ, त्यो भेन्टिलेटर भनेको असफल उपचारको रूपमा स्थापित भईरहेको छ । अक्सिजनको प्रवाह बढाउने प्रभावकारी काम गर्नुपर्छ । अस्तिको दिनमा डब्ल्यु.एच.ओ. ले एउटा घोषणा गरेको छ । अहिले जुन औषधीहरूको कुरा छ ।

होइन ती औषधीहरू त प्रभावहीन भयो । त्यो औषधीले काम गरेन ।

ले राम्रो काम गर्छ भन्ने कुराहरू उहाँहरूले हिजो रिपोर्ट दिएर के भन्नुभन्दा लगाउनू र नलगाउनूमा खासै फरक छैन । खासगरी संसारमा यो भनेको ईबोला, इन्फ्ल्युएन्जाको लागि बनेको हो । केही नभएको बेलामा यसले पनि काम गर्छ कि भन्ने संसारभरि त्यसरी लगानी भयो तर त्यो पनि पुष्टि गर्न सकिएन । त्यसैले अहिले कोरोना भाईरसको लागि चाहिने औषधी छैन । कोरोना भाईरसको भ्याक्सिन बनेको छैन । यतिबेला त आफु जोगिनुभन्दा अर्को विकल्प छैन भन्ने कुराहरूको बारेमा नागरिकले एकदमै दिल खोलेर सोच्नुपर्छ । अहिले बजारमा जानुभयो भने मास्क नै नलगाएको मान्छेले किनिराखेको छ । यो चीज जतिबेलासम्म नागरिकले मेरो जिम्मेवारी भनेर बुझ्दैन, त्यतिबेलासम्म सरकारले जतिसुकै गरे पनि हुँदैन ।

होइन, तपाईँहरूले भन्नुभएको छ, औषधीले काम गरेन । तर, औषधी ल्याउनको लागि अनुमति किन तीनओटा संस्थाहरूलाई मात्र दिनुभयो ?

तीनओटा संस्था पहिले नै औषधी व्यवस्था विभागमा दर्ता भईसकेको हुनाले हिजो हामीले पब्लिकली दियौँ । मानिसको मनोविज्ञान कस्तो भयो भने मेरो खल्तीमा छ भने मलाई ठीक हुन्छ भन्ने खालको हामीले त्यो एनाउन्समेन्टमा दिएको हो । तर हामीले बंगलादेश लगायत अरू देशहरूमा उत्पादन भएका हरूको लागि पनि औषधी व्यवस्था विभागले तत्कालै, आज त शनिबार हो, भोलि या पर्सि त्यो अनुमति दिन्छ । त्यसैले अनुमति दिनको लागि समस्या भएको होइन ।

औषधी प्रभावहीन छ ?

अहिले के छ भने डब्ल्यु.एच.ओ. को रिपोर्टको आधारमा यो अध्ययनहरूमा ३५० जना मान्छेको आँकडा हेर्दाखेरि यसले खासै एकदमै प्रभाव पारेको जस्तो देखिदैँन । तर केही केही व्यक्तिहरूलाई संक्रमणमा यो औषधी प्रयोग गर्ने बित्तिकै अलिकति कम भएको देखिएको छ तर समग्रमा त्यसले एकदम प्रभाव पारेको छ । त्यसैले केही व्यक्तिलाई प्रभाव पारेको हो कि ? भन्ने हो तर त्यसैले प्रभाव पारेको हो कि त्यो भाईरसको नेचुरल कोषमा यो ठीक भएको हो भन्ने अहिले पनि दुविधा छ । हामी पनि तथ्यांक संकलन गरेर विश्लेषण पनि गरिरहेका छौँ । तर हामीले हेर्दा पनि ¥याम्डिसिबि एकदमै प्रभावकारी कुराहरू नेपालमा पनि स्थापित हुन सकेको छैन । यो प्लाज्मा थेरापी पनि कतिपयलाई भयो तर समग्रमा यो नै प्रभावकारी हो भनेर भन्न सक्ने स्थिति छैन । त्यसैले यो हिट एण्ड ट्रायलको बेला हो । त्यसैले यही बेलामा आयुर्वेदको औषधी खायो भने ठीक हुन्छ भन्ने कुराहरू पनि आईरहेका छन् तर त्यसमा पनि खासै वैज्ञानिक हिसाबले ल यो औषधीको कारणले गर्दाखेरि यो कोरोना भाईरसलाई यसरी ठीक गर्छ भनेर निष्कर्ष दिन सक्ने खालको परिस्थितिमा हामी छैनौँ । त्यसो भएको हुनाले यी सबै के हुन् भने हिट एण्ड ट्रायलको विषय भएको हुनाले प्रमाणित कुरा के हो त भन्दाखेरि त्यही तीनओटा कुरा हो । मास्क लगाईदियो कसैले, भीडभाडमा गईदिएन र हात सधैँभरि धोईदियो भने हामी कोरोनाबाट बच्छौँ । नत्र भने कोरोनाको संक्रमण हुन्छ । कोरोनाको संक्रमण भईसकेपछि उसको शरीरमा अरू रोगहरू पनि छन् भने मधुमेह छ भने त्यस्ता व्यक्तिहरूलाई यसले सिकिस्त बनाउँछ । त्यसो भएको हुनाले हामीले त्यो विषयलाई एकदम गम्भीरताका सोचेर यसबाट जोगिनुपर्छ भन्ने खालको कुराहरूमा आम नागरिकले त्यसरी सोच्नुभएन भने सरकारले मात्रै केही गर्न सक्दैन ।

अब लकडाउन गर्नुपर्छ, दशैँको बेलामा भन्ने बहस सुरु भएको छ, तपाईँहरू त्यसको तयारीमा हो ?

अहिले हामीले त्यसरी कुराहरू गरेका छैनौँ । अहिले हाम्रो संक्रामक रोग ऐन–२०२० प्रयोग गरी स्थानीय प्रशासन अधिकारीहरूलाई यो अधिकार प्रत्योजन गरिएको हुनाले स्थानीय प्रशासनले आफु बसेर कहाँ कहाँ निषेधाज्ञा गर्ने ? लकडाउन गर्ने, नगर्ने भन्ने कुराहरू उहाँले निर्णय गर्नेगरी संघीय सरकारको तर्फबाट त्यो खालको सोच अहिले छैन । बन्दाबन्दी गर्ने भन्ने कुराहरू छैनन् ।

त्यसोभए बन्दाबन्दी हुँदैन ? दशैँ–तिहारमा खुल्ला हुन्छ ?

त्यो के छ भने स्थानीय प्रशासनले निर्णय गर्ने कुरा हो ।

होइन तपाईँहरूको पनि त सुझाव होला नि त स्थानीय प्रशासनलाई ?

हामीले त के भनेका छौँ भने तपाईँहरूले यो संक्रमणको परिस्थिति हेरेर र बन्दाबन्दी गरेर संक्रमण घट्छ भन्ने कुराहरू निक्र्यौल भयो भने गर्ने नै भन्ने हाम्रो सल्लाह सुझाव हो ।

अब उपचार गर्नको लागि समस्या भयो । संक्रमण बढिरह्यो भने त तपाईँहरूले बन्दाबन्दी गर्नुपर्ला नि त फेरि ?

अब यस्तो छ, त्यो एकदमै त्यस्तो खालको अप्ठ्यारो परिस्थिति आयो भने त यो आफै बन्दाबन्दी हुन्छ । तर यो अहिले हामीले एकदमै नीतिगत हिसाबले बन्दाबन्दी अथवा लकडाउन गर्ने भन्ने खालको कुराहरूमा नीतिगत निर्णयहरू केही पनि भएको छैन । सकेसम्म लकडाउन, बन्दाबन्दीको विरुद्धमा सबै मान्छेहरू भएको कारणले अहिले हाम्रो सरकारले ईम्पोज गरेर जनताले नटेर्ने र बन्दाबन्दी हुने स्थिति हामीले अहिले देखिरहेको हो । त्यसैले स्थानीय सरकार, जनता, प्रशासन मिलेर सामुहिक रूपमा उहाँहरूले निर्णय गरेर ल हामीले १५ दिनसम्म घरबाट बाहिर ननिस्कऔँ भनेर उहाँहरूले भन्नुहुन्छ भने त्यसमा संघीय सरकारले कुनै पनि आपत्ति जनाउने अवस्था छैन । तर संघीय सरकारले घोषणा गरेर यो बन्दाबन्दी गर्ने खालको नीति, अहिलेसम्म आजको दिनसम्म छैन ।

त्यसोभए सरकार यसपटकको दशैँमा भीडभाड गर्नको लागि अनुमति दिन्छ जनतालाई ?

त्यस्तो छैन । सरकारले त भनिसकेको छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले के भनेको छ भने तपाईँ जहाँ जहाँ हुनुहुन्छ, त्यही त्यही दशैँ मनाउनुहोस् । त्यहाँबाट बाहिर गएर अर्को ठाउँमा ईष्टमित्र, सारा मान्छेहरूलाई भेट्ने कुराहरू नगर्नुहोस् । अर्को दशैँमा गर्नुहोला । यसपालिको दशैँमा तपाईँहरू जहाँ जहाँ जो जो हुनुहुन्छ, त्यही दशैँ मनाउनुहोस् भनेर हामीले त्यस्तो खालको रणनीति अपनाउनुहोस् भनेर हामीले अनुरोध, अनुनय, विनय गरेका छौँ । अब यो त के छ भने नागरिकले आफुले पनि मेरो कर्तव्य हो भनेर सरकार, विज्ञले भनेको कुरा मानिदिएँ भने राम्रो हुन्छ भन्ने खालको हिसाबले आम नागरिकले बुझ्नु जरुरी छ । यो महत्वपूर्ण कुरा के छ भने टिका थाप्ने भनेको हामीले अभिभावकहरूबाट हो, अहिलेको यो कोरोनाले संक्रमण भयो भने त ठुलो ग्लानि, पश्चताप हुन्छ भन्ने सबैले सोच्नुपर्छ । सुरक्षाको विधिहरू अपनाएर जहाँ–जहाँ जो–जो हुनुहुन्छ, त्यहाँभन्दा बाहिर गएर सबै ईष्टमित्रहरूलाई भेट्ने खालको कुराहरू नगर्नुहोस् भन्ने नै सरकारको नीति हो । त्यसैले चाडवाड नमनाउनुहोस् भनेको छैन तर एकदमै सुरक्षित तरिकाबाट जनस्वास्थ्यका सारा मापदण्डहरू प्रयोग गरेर तपाईँले एकदमै लिमिटेड संख्यामा आफ्नो परिवारभित्र जहाँ हुनुहुन्छ, त्यही मनाउनुहोस् भन्ने खालको हो यो रणनीति । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्