Logo

बिहादी गाउँपालिकाको आफ्नै भवनवाट सेवा शुरु



पर्वत, १ कात्तिक: दक्षिण पर्वतको बिहादी गाउँपालिकाले आफ्नै भवन निर्माण गरी सेवा शुरु गरेको छ । गाउँपालिका स्थापना भएदेखि हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको पालिकाले यसै सातादेखि आफ्नै भवन निर्माण सम्पन्न गरी सेवा दिन थालेको हो ।

विकट भए पनि मासिक करीब रु ३२ हजार भाडा तिर्दै आएको गाउँपालिकाले अहिले आफ्नै भवनबाट सेवा शुरु गरेको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रु ५० लाखको लागतमा सातकोठे भवन निर्माण गरिएको छ । गाउँपालिकाको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह र सेवाग्राहीलाई सेवा लिन सहज भएको अध्यक्ष भुसालले बताए ।

पर्वतका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिका तथा जलजला, मोदी र पैंयु गाउँपालिका भाडाका घरमा सञ्चालित छन् । त्यसैगरी फलेवास नगरपालिका तथा महाशिला र बिहादी गाउँपालिका आफ्नै भवन निर्माण गरेर सञ्चालन भएका छन् । उत्तरी क्षेत्रको जलजला गाउँपालिकाले भवन निर्माणका लागि जग्गा खोजी गरिरहेको छ भने मोदीले यस वर्षदेखि भवन निर्माण शुरु गर्ने जनाएको छ ।

विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य

विद्यालय रहेका स्थानमा ठूलो पहिरो जाँदा एक विकट गाउँको विद्यालय विस्थापित बनेको छ । जलजला – १ बाँसखर्कस्थित जनज्योति प्राथमिक विद्यालय पूर्ण रुपमा ध्वस्त बनेको छ । जमीन चर्किने र धाँजा फाट्ने भएपछि विद्यालयमा रहेका दुई पक्की ट्रस भवनका चार कोठासहित आठ कक्षाकोठा पूर्ण रुपमा भत्किएका छन् । भवन पूर्ण रुपमा नढले पनि कक्षाकोठाभित्रको भुइँ, छानो र गारो पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रधानाध्यापक जगतबहादुर खत्रीले बताए ।
विसं २०४६ मा स्थापित उक्त विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा अहिले ४० विद्यार्थी अध्ययनरत छन् ।

कोरोना भाइरसको महामारीका कारण नयाँ शैक्षिकसत्रको पठनपाठन नहुँदा विद्यार्थी विद्यालय नआए पनि गत सातादेखि विद्यालयले पठनपाठन शुरु गरेको छ । जलजला –१ का वडाध्यक्ष तुलसीराम रेग्मीले विद्यालयमा पुगेको क्षतिबारे गाउँपालिकामा जानकारी गराइएको बताउँदै नयाँ भवन बनाउने वा अरु विकल्प खोज्नेबारे निर्णय हुन बाँकी रहेको बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्