Logo

सकियो मनसुन



काठमाडौं, कार्तिक २ । कोरोना भाइरसले हल्का च्याप्दा सुुरु भएको मनसुुन असोज महिना सकिएसँगै बाहिरिएको छ । विगत दस वर्षको तथ्याङ्क अनुसार यो वर्षको मनसुनले सबभन्दा धेरै विपद् दिएर बाहिरिएको छ ।

मनसुन बाहिरिएसँगै झलमल घाम लाग्ने र बिहान बेलुका हल्का चिसो हुनेगरी शरद ऋतु भित्रिएको महसुस गर्न थालिएको छ । शनिबार घटस्थापना सुरु भएसँगै यस वर्षको दशँै तिथिगत रूपमा सुरु भएको छ । मौसमले पनि दशैँ आएको झल्को दिएको मौसमविद् बताउँँछन् ।

कोरोनाको भय र त्रासबीच विपद्मा परेकालाई निरन्तर झस्काइरहेको छ । कैयौँले आफ्ना परिवारका सदस्य गुमाएका छन् । कैयौँ घरबारविहीन भएर त्रिपालमुनि बस्न बाध्य छन् । यस वर्षको मनसुनमा पहिरोको उग्रताका कारण अकल्पनीय रूपमा अत्यधिक जनधनको क्षति नेपालले बेहोर्नुपरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउनुुहुुन्छ ।

मनसुन अवधिभर विगत दस वर्ष यताकै धेरै जनधनको क्षति भएको छ । मनसुन सुरु भएपछि जेठ यता ३६७ जनाले विभिन्न खालका विपद्बाट ज्यान गुमाएका छन् । यस वर्षको वैशाख यता ४०२ जनाले ज्यान गुमाएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी, पहिरो र चट्याङ जस्ता मुख्य विपद्बाट २९३ को मृत्यु भएको छ । पोखरेलले अकल्पनीय पहिरोका कारण सबैभन्दा बढी क्षति भएको हो, सोच्दै नसोचिएका स्थानमा पहिरो जाँदा पूर्वतयारी गर्न नपाइएको अवस्था थियो भन्नुभयो । उहाँका अनुसार विगतका वर्षमा करिब एक सय जनाको हाराहारीमा पहिरोका कारण ज्यान गएको तथ्याङ्क छ । पहिरोमा पुरिएर अझै ६४ जना बेपत्ता भएका छन् भने २२२ जना घाइते भएका छन् ।

उहाँले बाढीबाट ३९ को मृत्यु भएको बताउनुभयो । बाढीमा बगेका अझै ३६ जना बेपत्ता छन् । नौ जना घाइते भएका थिए । बाढीको क्षति विगतको तुलनामा न्यून रहेको पोखरेल सुनाउनुहुन्छ । विशेषगरी यस वर्ष प्रदेश–२ मा बाढीको वितण्डा विगतमा जस्तो नभएकाले क्षति कम भएको हो ।

पहाडी भेग छोएका क्षेत्रमा बाढी र पहिरो दुवैको वितण्डा बढी रह्यो ।त्यसैगरी मनसुनी चक्र लामो चल्दा चट्याङ लागेर पनि धेरैले ज्यान गुमाउन पुगेको पोखरेल उल्लेख गर्नुहुन्छ । मनसुनको अवधिमा चट्याङ लागेर ३५ को मृत्यु भएको छ । यस घटनामा ९४ जना घाइते हुन पुगेका थिए । अझ मनसुनजन्य विपद्का कारण घरबार गुमाउनेको सङ्ख्या सम्पूर्ण रूपमा यकिन भइसकेको छैन ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot