Logo

चम्किने बेला सुस्तायो बजार



काठमाडौं, कार्तिक २ । बडादसैंको पहिलो दिन (घटस्थापना) मा मुलुकका प्रमुख व्यापारिक केन्द्रमा चहलपहल हुन्थ्यो। सपिङ मल तथा बजारमा व्यापारीलाई सामान बेच्न भ्याइनभ्याइ, किनबेच गर्नेको ठेलमठेल देखिन्थ्यो। व्यापारीले राम्रै आम्दानी गर्थे। खर्च गर्नेले पनि मन फुकाउँथे। यसले अर्थतन्त्रलाई नै चलायमान बनाउँथ्यो।

तर यो वर्ष घटस्थापनाको दिन शनिबार बजारमा खासै चहलपहल देखिएन। व्यापारी ग्राहक आउने छाँटकाँट नदेखेपछि निराश छन्। कोभिड–१९ महामारीका कारण अहिले दसैं लक्षित बजार सुस्ताएको छ। धेरैको रोजगारी गुमेको छ। आम्दानी खुम्चिएको छ। कोभिड सर्ने त्रास पनि छ। कोरोनाको कारण राजधानीबाट अधिकांश आफ्नो थातथलो (जन्म गाउँ) जाने मुडमा छैनन्। सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले टीका लगाउन आफन्तकोमा जाने परिस्थिति छैन। त्यसैले किनमेल प्राथमिकतामा छैन। यसले दसैं अर्थतन्त्रलाई खुम्चाएको छ।

आरपी ग्रुपका कार्यकारी निर्देशक रुपेश पाण्डे अहिलेको दसैं बजार देखेर चिन्तित छन्। पाण्डेका दरबारमार्ग, लबी मल, जाउलाखेललगायतका ठाउँमा ब्रान्डेड कपडाका दुईदर्जन बढी आउटलेट छन्। ‘विगतका वर्ष दसैं सुरु भएपछि सामान बेच्न भ्याइनभ्याइ हुन्थ्यो,’ पाण्डेले भने, ‘अहिले कोभिडको त्रासले ग्राहक नै छैनन्।’ पाण्डेका अनुसार पोहोरको तुलनामा अहिले २० प्रतिशतमात्र व्यापार छ। ‘दसैंको सपिङ गर्न कोही आएका छैनन्,’ पाण्डेले भने, ‘अहिले बजार सुस्तायो। दसैं आएजस्तो पनि छैन।’ पाण्डेका अनुसार विगत वर्षको तुलनामा यो वर्ष ८० प्रतिशत कम व्यापार भएको छ।

काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध, भृकुटीमण्डपलगायतका स्थान र सपिङ मलमा पनि खासै भिडभाड छैन। काठमाडौं मल, भाटभटेनी सपुरमार्केट, कान्तिपुर मल, बिजी मल, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, लबी मल, केएल टावरमा पसले ग्राहक कुरेर बसिरहेका छन्।

आम्दानीका स्रोत खुम्चिएपछि त्यसको प्रभाव बजारमा देखिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot