Logo

सहकर्मीको हत्या गरेको अभियोगमा ११ वर्षपछि दुई जना पक्राउ



काठमाडौं, २ कात्तिक । सहकर्मीको हत्या गरेको अभियोगमा ११ वर्षपछि दुई जना पक्राउ परेका छन् । ललितपुर गोदावरीस्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी घर भएका डिलबहादुर योञ्जनको हत्या गरेको अभियोगमा दुई जनालाई घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी नगरपालिका घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन् । उनीहरुले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको विडले हानी, कुटपिट समेत गरी घाईते बनाएकोमा उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ । घटनापश्चात मामा भाञ्जा नाता पर्ने उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्लीमा गई आफ्नो बास्तविक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाई रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेको समेत खुल्न आएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाएको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्