Logo

चौतर्फी आलोचनापछि कुनकुन सांसदले फिर्ता गरे दशै खर्च ?



कात्तिक २, काठमाण्डौ । सांसदहरूले असोजको दसैँको पेस्की लिएपछि चौतर्फी विरोध भइरहेको छ । कानुनी रुपमा दसैँ खर्चसम्बन्धी कुनै प्रावधान नै नभएको कानुनका जानकारहरु बताउँछन् । अर्कोतर्फ कोरोनाका कारण रोजगारी गुमाएका र खर्चको जोहोसमेत गर्न नसकेका नागरिकलाई सरकारले कुनै राहत दिएको छैन । तर जनप्रतिनिधीले भने राज्यको ढुकुटीबाट मोटो रकम लिएको भन्दै सर्वसाधारण पनि रुष्ट बनेका छन् ।

कोरोना संक्रमणको महामारीका कारण देशको अर्थतन्त्र पनि ठूलो संकटमा परिरहेको छ । यसैबीच उठेको राजस्श्वबाट सरकारका नियमति खर्च धान्न पनि मुस्किल परिरहेको छ । अर्कोतर्फ कोरोना महामारीका कारण नेपालमै पनि लाखौंले रोगजार गुमाएका छन् । महामारीकाबीच खटिएका थुप्रै स्वास्थ्यकर्मीहरुले अझै पनि जोखिम भत्ता पाउन सकेका छैनन् । यस्तो अवस्थामा सांसद तथा मन्त्रीहरुले भने साविककै जस्तो दशैं भत्ता लिएका छन् । तर यस्ता सेवासुविधा लिसकेका सांसदहरु भने आफ्नै खातामा रकम आउदा समेत बेखवर भएको प्रतिकृया दिने गरेका छन्् ।

कम्युनिष्ट सरकारले जनतालाई राहत दिनुको साटो सांसदहरुलाई दसैँ भत्ता बाँडेर भोकले मर्ने हालतमा पुगेका जनतालाई नै आहत बनाउने काम गरेको सर्वसाधारणको प्रतिक्रिया छ । दशैँ भत्ता लिएको थाहा पाउनसाथ सामाजिक संजालमा सांसदहरुको विरोध भइरहेको छ ।

सांसदहरूले दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा कुनै प्रावधान नभएको अधिवतmा खम्ब बहादुर खाति बताउछन् । सांसदले बनाएको कानुनमा नियमित तलबबाहेक, घरबहाल खर्च, खानेपानी तथा विद्युत् खर्च, सञ्चार खर्च, सचिवलाई तलब, बैठक भत्ता, भ्रमण भत्ताको व्यवस्था छ । तर, दसैँ खर्चसम्बन्धी कुनै प्रावधान नै नभएको खातिको भनाई छ ।

यि हुन खातामा आएको पैसा फिर्ता गर्ने सांसदहरु

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आफूले पाउने र सचिवालय सदस्यले पाउने दशैं भत्ता संसद सचिवालयमा गएर फिर्ता गरेका छन् ।

सांसद जनार्दन शर्माले आफूले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत जानकारी दिँदै शर्माले कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरालाई सो रकम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सांसद देवेन्द्र पौडेलले आफूले पाएको दशैं भत्ता बाढी पीडितलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र बाग्लुङको ढोरपाटन नगरपालिका भुजीखोप, लाका बाढी पहिरो पीडितलाई सो रकम उपलब्ध गराउने उल्लेख गरेका छन् ।

सांसद सूर्य पाठकले पनि सांसदहरुलाई दिइएको दशंैभत्ता नलिने घोषणा गरेका छन् । आइतबार संघीय संसद सचिवालयलाई पत्र लेख्दै सांसद पाठकले आफूलाई दिइएको दशै खर्च वापतको ६४ हजार ७० रुपैयाँ सरकारी कोषमा दाखिला गराईदिन आग्रह गरेका छन् ।

भीम रावलले दसैँ भत्ता वापतको रकम फिर्ता गरेका छन् । उनले संघीय संसद सचिवालयलाई आइतबार एकपत्र लेख्दै आफूले प्राप्त गरेको दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् । उनले आफ्नो खातामा जम्मा भइसकेको रकम फिर्ता लिन संघीय संसद सचिवालयलाई कठिनाइ हुने भए भत्ता वापतको रकम चेक लिएर वा आफ्नो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टा गर्न अनुरोध गरेका छन् ।

सांसद वालकृष्ण खाँणले पनि दशै भत्ता फिर्ता गरेका छन् । संघीय संसद सचिवालयलाई आइतबार पत्र लेख्दै सांसद खाणले हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा, र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिहरुलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचीत नभएकोले प्राप्त भएको दशै भत्ता वापतको रकम संघीय संसद सचिवालय मार्फत जनहीतमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने जानकारी गराएका छन् ।

गगनकुमार थापाले संघीय संसद सचिवालयमै गएर दशैं खर्च वापतको भत्ता रकम फिर्ता गरेका छन् । आइतबार सचिवालयको लेखा शाखामा गएर उनले नगदमै फिर्ता गरेका हुन् ।

सत्तारुढ दल नेकपाका प्रवक्ता समेत रहेका पूर्वमन्त्री एवं सांसद नारायणकाजी श्रेष्ठले दशैंभत्ता मात्र हैन हालसम्मको तलब सुविधा समेत लिएका छैनन् । उनले कोरोना संक्रमण अन्त्य नभएसम्मका लागि आफूलाई तलब भत्ता समेत उपलब्ध नगराउन भन्दै संसद सचिवायलाई यसअघि नै पत्र लेखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot