Logo

सांसदलाई भर्चुअल बैठकको भत्ता



जनकपुरधाम, कार्तिक ३ । प्रदेश २ मा प्रदेशसभा सांसदहरूले सदनको बैठकमा भर्चुअल सहभागिता जनाएको पनि भत्ता बुझेका छन्। कोभिड—१९ को महामारीले जनता गरिबी र भोकमरीमा परेका बेला प्रदेशसभाका माननीयहरूले घरमै बसेर बैठकमा सहभागिता जनाउँदा पनि भत्ता बुझेका हुन्।

सूचना प्रविधिमार्फत संसद् बैठकमा सहभागिता जनाएका प्रतिसांसदलाई प्रतिबैठक १ हजार भत्ता उपलब्ध गराइएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत नवीन मिश्रले जानकारी गराए।

‘भर्चुअल मिटिङमा बसेका सांसदज्यूहरूलाई प्रदेशसभा बैठकमा झैं भत्ता उपलब्ध गराएका छौं तर उहाँहरूलाई सवारी भत्ता बापतको पाँच सय दिएका छैनौं’, मिश्रले भने।

संघीय सरकारले चैत ११ देखि लकडाउन घोषणा गरे पनि सो अवधिमा भीडभाड गर्न नहुने भन्दै प्रदेशसभा बैठक स्थगित गरिएको थियो। जेठ २१ देखि प्रदेशसभामा भौतिक दूरी कायम गरी कुर्सीहरू सोहीअनुसार मिलाएर बैठक सुरु भएको थियो।

संवैधानिक प्रावधानअनुसार असार १ गते प्रदेशसभामा सरकारले बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस गर्नुपर्ने हुनाले बैठक बस्नु आवश्यक थियो। तर, सोही बेला केही सांसदमा कोरोना संक्रमण देखिएपछि बैठक सञ्चालनमा समस्या आएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी अरुणकुमार झाले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot