Logo

जसपा सांसद मनिष सुमनको प्रश्न : ‘हामीलाई दशैं खर्च चाहिएन, त्यसरी पठाईदिने सरकार पो त गलत हो’



काठमाडौं, ४ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश सांसद मनिष सुमनले आफ्नो पार्टीले दशैं खर्चलगायतका भत्ता सुविधा नलिनेबारे आजै संस्थागत निर्णय गर्न लागेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको कार्यकारिणी समिति बैठक जारी रहेको र यही बैठकले यसबारेमा कुनैपनि सुविधा नलिनेबारे निर्णय गर्ने उनले जानकारी दिए । उनले भने-“कोरोनाको उपचारमा शुल्क लिने सरकारको निर्णयको घोर हामी आपत्ति गर्दछौं । दशैं खर्च हालिदिनुभयो, दशै खर्च चाहिएन । त्यसरी पठाईदिने सरकार पो त गलत । हामीले फिर्ता लिने निर्णय गरिसक्यौं । हिजो धेरै ढिलोसम्म बैठक लम्बियो हामी औपचारिक रुपमा आज निर्णय गर्छौं । ऋषि धमलाले बुझ्नेगरि गरि हामी संसद सचिवालयलार्य पत्राचार गर्दछौं । हामी संवेदनशील छौं । देशमा भोकमरी छ, यस्तो बेलामा गलत काम गर्नुभएन ।”

उनले दशैं खर्च फिर्ता गर्नेबारे आफूहरु छलफलमै रहेकोले संस्थागत निर्णय आउन ढिलाई भएको सुनाए । उनले भने-“हामी सुतेर बसेका थिएनौं । हामी गहन छलफल गर्दैथियौं । संस्थागत निर्णय नै गर्नुपर्छ । एक्लै हिरो बन्नुभन्दापनि भनेर । कांग्रेसले संस्थागत निर्णय गरेपछि नेकपाले पनि गर्दैछ अरे, मैले सुनेको है । प्राथमिक स्वास्थ्योपचार निःशुल्क हुनुपर्छ भनेर संविधानमा मौलिक हकमा छ । कोरोना उपचार पनि मौलिक हकमा पर्छ । त्यसैले यसको उपचार निःशुल्क हुनुपर्छ ।”

उनले पार्टीमा डा. बाबुराम भट्टराईको वरियता सम्मानजनक हुनेपनि विश्वास दिलाए । उनले भने-“उहाँ हाम्रो नेता हो । जसपा समानताका आधारमा एकता हो । रोल नम्बर एक वा दुई भन्ने छ । हाम्रोमा सबैभन्दा ठूलो नेता छैन् । बाबुरामजी देश र जनतालाई पत्याएको नेता हो । उनको रुचि सुनेर केन्द्रिय कार्यकारिणीले जिम्मेवार दिन्छ । संसदीय दलको नेता संसदीय दलको बैठकले छान्ने हो । कार्यकारिणीले छान्ने होईन ।”

आफ्नो पार्टीका नेता डा. बाबुरामले बुढीगण्डकी आयोजनामा अरबौं भ्रष्टाचार भएको छ भनेर सार्वजनिक रुपमै बोलिसकेपछि सरकारले यसबारेमा सत्य, तथ्य प त्ता लगाउन छानबिन समिति बनाउनुपर्ने पनि उनको माग छ । उनले भने-“भ्रष्टाचारको कुरा गर्दा कसरी भ्रम सिर्जना भयो ? बाबुरामले प्रमाण दिन्छु भन्नुभएको छ। छानबिन गर्ने भए मेरो पनि छानबिन गर भन्नुभएको छ । यत्तिको आँट भएको नेता देखाईदिनुहोस । समिति बनाए म प्रमाण दिन्छु भनेर भन्नुभएको छ। आरोप फेश गर्नुपर्छ । सानो उजुरीमाथि छानबिन प्रक्रिया अघि बढ्छ । यत्रो आरोपमा छानबिन गर्नुपर्छ । बाबुरामले त मेरो पनि छानबिन गर भन्नुभएको छ।”



प्रतिक्रिया दिनुहोस्