लमजुङ, ४ कात्तिक: लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।
दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी सहयोग आउने गरेको र त्यसकै भरमा दशैँ मनाउँदै आए पनि यस वर्ष दशैँको चौथौ दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताए । उनले भने, विगतमा जस्तो दशैँ यस वर्ष कोभिड १९ का कारण नमनाए पनि खानाका लागि त्यहाँका अधिकांश चेपाङलाई दशैँमा चामलसमेत किन्ने पैसा छैन ।
दशैँमा मीठोमसिनो खाएर हर्षउमङ्खका साथ मनाउनका लागि आर्थिक अभावका कारण अरुको भर पर्नुपर्दा र सहयोग अहिलेसम्म नआउँदा बालबच्चालाई नयाँ कपडा लाउन र एक छाक खानलाई समस्या भएको ५७ वर्षीय पूर्णबहादुर चेपाङले भने ।
तिनलाई गरी खानलाई खुर्सानी लगाउनेसमेत आफ्नो जमीन छैन । गाउँमा रहेका अन्य समुदायको जमीनमा अधियाँ गरेर खेती गर्नुपर्छ । वर्षभरि गरिएको खेतीबाट उब्जेको अन्नबाली आधीआधी गर्दा दुई महिनाबाहेक खान नपुग्ने उनको भनाइ छ । सत्चालीस वर्षीय तिलकबहादुर चेपाङले भने, गरीबलाई के दशैँ के चाडपर्व, सधै एकनाश भएको छ । जब-जब चाडपर्वको बेला आउँछ अरुले नयाँ नयाँ लगाएको देख्दा हाम्रा छोराछोरीले हामीलाई पनि त्यस्तै कपडा ल्याइदिनुस् न बुबा भन्ने गर्छन् । त्यति बेला मलाई निकै नरमाइलो लाग्छ, अनि मन साह्रै रुन्छ ।
बरबोटका चेपाङ समुदायका १० घर र दोर्दी गाउँपालिका ९ भीरकुनामा चार घर गरी जिल्लामा १४ घरधुरी चेपाय छन् । चेपाङ समुदायले अन्य समुदायको खेतीपाती गर्दै जीविका चलाउँदै आएको छ ।-रासस/File Photo