काठमाडौं, कार्तिक ५ । चाडपर्वमा चिनीको माग बढी भई अभाव हुने हुने गरेको छ । तर, दशैंतिहार जस्ता ठूला चाडपर्व नजिकिए पनि सरकारी कम्पनीसँग पर्याप्त मात्रामा चिनी उपलब्ध छैन । यसले गर्दा उपभोक्ताहरू महँगो मूल्यमा चिनी किन्न बाध्य छन् ।
२० हजार मेट्रिकटन चिनी किन्ने अनुमति पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग अहिले ५ हजार मेट्रिक टन मात्र चिनी उपलब्ध छ भने १० हजार मेट्रिक टन चिनी किन्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म चिनी किन्न सकेको छैन ।
साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले किन्ने अनुमति पाएको २० हजार मेट्रिकटनमध्ये अहिलेसम्म ५ हजार मेट्रिकटन मात्र नेपाल आइपुगेको र सबै परिमाण चिनी तिहारपछि मात्रै नेपाल आइपुग्ने बताए ।
दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वका समयमा मात्रै नेपालमा करीब ७० हजार मेट्रिकटन चिनीको माग हुने गर्छ । चाडपर्वको समयमा यति ठूलो परिमाणमा चिनीको माग हुने गरेको भए पनि सरकारले ३० हजार मेट्रिकटन मात्रै किन्ने अनुमति दिनु दुःखद कुरा भएको सरोकारवालाहरू बताउँछन् ।
साल्ट ट्रेडिङले चाडपर्वका समयमा चिनीको माग बढ्ने भएकाले यसअघि सरकारसँग ५० हजार मेट्रिकटन चिनी किन्नका लागि अनुमति मागेको भए पनि सरकारले जम्मा २० हजार मेट्रिकटन मात्रै किन्न अनुमति दिएको थियो ।
सरकारले मागभन्दा कम परिमाणमा चिनी किन्दा ठूला व्यापारीले त्यसलाई मौकाको रूपमा लिई महँगोमा चिनी विक्री गर्ने र त्यसको मारमा ग्राहकहरू नै पर्ने गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।