Logo

बैंकका ३५०० भन्दा बढी कर्मचारी कोरोना संक्रमित हुँदा बैंकिङ सेवा प्रभावित



काठमाडौं, कार्तिक ५। कोरोना संक्रमण बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था कोभिड–१९ को केन्द्र बनेका छन् । संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा बैंकले सबै शाखाबाट एकै पटक सेवा दिन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा ३ हजार ५०० को हाराहारीमा कर्मचारीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् ।

वाणिज्य बैंकका कर्मचारीको तुलनामा विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामा भने संक्रमित कर्मचारीको संख्या न्यून रहेको छ । नेपाल डेभलप्मेन्ट बैंकर्स एशोसिएशनले कात्तिक २ गतेसम्म २० ओटा विकास बैंकहरुमा ४८५ जना कर्मचारी संक्रमित भइसकेको बताएको छ ।

यसमध्ये १७६ जना संक्रमण मुक्त भइसकेका छन् भने ३०९ जना कर्मचारी अझै संक्रमित छन् । संक्रमित कर्मचारीका एकाघर परिवारका १८३ जना सदस्यसमेत संक्रमित रहेको संघले बताएको छ । यसैगरी ‘ग’ वर्गका २१ ओटा वित्त कम्पनीका करीब २०० जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

बैंकको काउन्टरमा बस्ने क्यासियरदेखि माथिल्लो तहका कर्मचारी कोरोना संक्रमित भएपछि पालैपालो गर्नुपर्दा सेवा प्रवाहित भएको बैंकरहरु बताउँछन् । संक्रमित बढेकाले अधिकांश कम्पनीहरुले पछिल्लो समय सबै शाखा सञ्चालन गर्न सकेका छैनन् ।

कतिपय कम्पनीहरुले भने पालैपालो शाखा कार्यालय खोलेका छन् भने कतिपय कम्पनीले सेवाअवधि घटाएर १० बजेदेखि १ वा २ बजेसम्म कार्यालय समय तोकेका छन् ।

हाल सञ्चालनमा रहेका ८४ ओटा लघुवित्त वित्तीय संस्थाको अधिकांश कार्यालय राजधानी बाहिर अर्थात् ग्रामिण भेगमा भएकाले यस्ता कम्पनीका कर्मचारीहरु भने फाट्टफुट्ट मात्र संक्रमित भएका छन् । सबै लघुवित्त कम्पनीको कुल कर्मचारीको औसत २ प्रतिशत कर्मचारी मात्र कोरोना संक्रमित भएको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्