Logo

नेपालमा वित्तीय क्षेत्र र जलविद्युत् लगानीबारे अन्तरराष्ट्रिय संस्थाको चासो



काठमाडौं, कार्तिक ५ । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को एशिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्ट अल्फोन्सो गार्सिया मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनःसंरचना, वित्तीय क्षमताको अभिवृद्धि, जलविद्युत् क्षेत्रमा लगानी विषयमा चासो व्यक्त गरेका छन् । अन्तरराष्ट्रिय मुद्रा कोष ९आईएमएफ० र विश्व बैंक समूहको संयुक्त वार्षिक भर्चुअल बैठकको क्रममा आईएफसीका मोराले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग नेपालबारे यस्तो चासो व्यक्त गरेका हुन् ।

गत असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म भएको उक्त भर्चुअल बैठकमा मोराले नेपालको डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी), स्वदेशी मुद्रामा बण्ड जारी गर्नेबारे समेत चासो देखाएका छन् । यसैबीच गभर्नर अधिकारीले आईएमएफका डेपुटी प्रबन्ध निर्देशक ताओ चाङसँग कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवं त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाबारे छलफल गरेका छन् । साथै कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको विषयमा समेत गभर्नरले चर्चा गरेका थिए ।

आईएमएफका साउथ इस्ट एशिया भोटिङ ग्रूपका कार्यकारी निर्देशक एलिसरा महासन्दना र वैकल्पिक कार्यकारी निर्देशक केङहेङ तानले विश्वव्यापी महामारीको रूपमा देखिएको कोभिड–१९ ले नेपालको आर्थिक स्थिति र मानव स्वास्थ्यमा परेको असरबारे जानकारी गराए ।

उक्त अवसरमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवं प्रवक्ता डा। गुणाकर भट्ट आईएमएफको मोनिटरी र क्यापिटल मार्केट डिपार्टमेन्टको भर्चुअल बैठकमा सहभागी भएका थिए । यसबीच भएका विभिन्न बैठकका क्रममा द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरू, कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंकले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्