काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग गरेको भेटवार्ताले नेपाली राजनीति तातेको छ । गोयल हिजो अपरान्ह काठमाडौं ओर्लिएका हुन् । सुरुमा मिडियामा रअ प्रमुख काठमाडौंमा भन्ने समाचार आउँदा नै उनी आएका हुन या होईन ? भन्नेबारे सामाजिक सञ्जालमा बहस सुरु भएको थियो । आएकै हुन भने कसको निमन्त्रणामा आएका थिए ? भन्नेबारे पनि जिज्ञासा थियो । कतिसम्म भने प्रधानमन्त्री ओलीकै समर्थकहरुले ओलीले रअ प्रमुखलाई किन नेपाल बोलाउँथे ? भन्दै ओलीले नबोलाएको टिप्पणीसमेत गरेका थिए ।
गोयलले काठमाडौंमा एक रातको बसाईमा क-कसलाई भेटे ? भन्नेबारे अझै यकिन छैन् । तर, प्रधानमन्त्री ओलीसँग् भने उनले हिजै राति करिब तीन घण्टा भेटवार्ता गरेको खुल्न आएको छ । भेटबारे प्रधानमन्त्रीको सचिवालयले नै पुष्टि गरिसकेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेटवार्ताबारे जारी गरेको नोटमा भनिएको छ,”भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।”
‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको जसरी वार्ता भयो यो आपत्तिजनक छ : भीम रावल
साझा पार्टीको प्रश्न : के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन्?
‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता, के कुरा भयो ?
देउवाले रअ प्रमुखलाई नभेटेको दाबी
तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाललगायतका नेताहरुले भने प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयलसँग गरेको भेटवार्तालाई लिएर आपत्ति जनाएका छन् । सुरुमा केही मिडियामा दाहालले पनि रअ प्रमुखसँग भेटवार्ता गरेको समाचार आएका थिए । उक्त समाचारलाई लिएर दाहालको सचिवालयले खण्डनसमेत गरेको थियो । दाहालका प्रेस संयोजक विष्णु सापकोटाद्धारा जारी विज्ञप्तीमा भनिएको छ-“नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।”
दाहालले मात्रै होईन, नेता नेपालले पनि रअ प्रमुखसँग भेट नगरेको बुझिएको छ । उता, कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयलेपनि रअ प्रमुखसँग भेट नभएको भनेर स्पष्ट पारिसकेको छ । रअ प्रमुख प्रधानमन्त्री ओलीकै निमन्त्रणामा नेपाल आएका थिए भन्ने कुरा पुष्टि भैसकेको छ । भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवाणे यही कार्तिक १८ गते काठमाडौं आउँदैछन् । उनको भ्रमणको पूर्वतयारीको लागि रअ प्रमुख काठमाडौं आएको भनेर कतिपयले आँकलनसमेत गरेका छन् । तर, गोयलले आफ्नो एक रात काठमाडौं बसाईको क्रममा प्रधानमन्त्री ओलीलाई मात्रै भेट्नुले नेपाल-भारत सम्बन्धमा अहिले देखिएको चिसोपना हट्ने संकेत समेत देखाएको कतिपयको विश्लेषण छ ।
प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध राम्रो छैन भनेर चर्चा तथा बहस भैरहेको बेलामा र सिमा विवादबारे वार्तासमेत नभईरहेको सन्दर्भमा रअ प्रमुखलाई निमन्त्रणा दिएर काठमाडौंमा न्यानो आतिथ्यता प्रदान गर्दा नेपाली राजनीतिमा एक प्रकारको तरंग पैदा भएको छ । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले गोयलको नेपाल भ्रमण पार्टीलाई जानकारी नभएको सुनाए । उनले यो सरकारको विषय भएको पनि प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता रिजालले प्रधानमन्त्री ओलीको भारतसँग अत्यन्तै सुमधुर र घनिष्ठ सम्बन्ध रहेको पनि बताएका थिए। उनले अन्तर्वार्ताको क्रममा भनेका छन्,‘नबुझेको मान्छेहरुले मात्रै प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध राम्रो छैन भनेर प्रचार गर्छन् ।’
केही महिना अघि प्रधानमन्त्री ओलीले भारतले आफ्नो सरकार ढाल्न लागेको र यसमा आफ्नै पार्टीका नेताहरुको हात रहेको र होटल/होटलमा भेट्दै हिँडेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । ओलीको अभिव्यक्ति अर्का अध्यक्ष दाहालप्रति लक्षित थियो । नेकपाको स्थायी कमिटी बैठक सुरु भएलगत्तै ओलीले यस्तो अभिव्यक्ति दिँदा शीर्ष नेताहरुले स्पष्टीकरण मागेका थिए। ओलीले त्यतिवेला आफूलाई भारतको विरोधी र दाहाललाई भारतको पक्षमा उभ्याईदिएका थिए । तर, ६ महिना बित्न नपाउँदै ओलीले रअ प्रमुखलाई आफ्नै निमन्त्रणामा काठमाडौं बोलाई न्यानो आतिथ्यता प्रदान गरेर चकित तुल्याईदिए । नेकपाकै नेताहरुले रअ प्रमुखको नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको घण्टौं लामो भेटवार्ता र भलाकुसारीलाई लिएर भने आपत्ति जनाएका छन् । नेकपाका प्रभावशाली नेता, पूर्वउपप्रधानमन्त्री तथा सांसद डा. भीम बहादुर रावलले रअ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन् ।
रअ प्रमुख गोयलको भ्रमणमा प्रधानमन्त्री ओलीले पार्टी र परराष्ट्र मन्त्रालयलाई नै बाईपास गरेको पनि चर्चा चल्न थालेको छ । प्रधानमन्त्री ओलीले गत अगष्ट १५ मा भारतको स्वतन्त्रता दिवसको अवसरमा टेलिफोनमार्फत सम्वाद गरेका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले नेपाली भूमि मिचेको र त्यो फिर्ता ल्याएरै छाड्ने उद्घोष गरेका ओलीले अहिलेसम्म भूमि फिर्ता गर्नेगरि सार्थक वार्ता भने गरेका छैनन् । प्रधानमन्त्री ओलीलाई सबै राजनीतिक दलले साथ दिएको बेला भारतसँग कुटनीतिक रुपमा परिपक्व तवरले वार्ता गरेर भूमि फिर्ता ल्याउने अवसर भएपनि त्योअनुसार कदम चाल्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आरोप छ ।
कांग्रेसका प्रभावशाली नेताहरुले प्रधानमन्त्रीले कागजमामात्रै भूमि फिर्ता ल्याएको तर व्यवहारमा ल्याउनेगरि काम नगरेको टिप्पणी पनि गरेका छन् । प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध सुमधुर बनाउनेगरि कदम चाल्नुको विकल्प छैन् । यसको लागि निरन्तर वार्ता, सम्वाद र द्धिपक्षीय भ्रमण आदान-प्रदानकै जरुरी छ । तर, भारतको कर्मचारीलाई बालुवाटारमा यसरी न्यानो आतिथ्यता प्रदान गरिनु ठीक हो त ? भनेर नेकपाकै नेताहरुले प्रश्न उठाएका छन् । उनीहरुले रअ प्रमुखसँगको प्रधानमन्त्री ओलीको भेट पारदर्शी हुनुपर्ने बताएका छन् । प्रधानमन्त्रीजस्तो व्यक्तिले गर्ने भेटघाटमा कुटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने नेताहरुको सुझाव छ ।