दशैको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व धेरै हुन्छ । सप्तमी तिथिको दिन दशैको लागि पुजा सामाग्री स्वरुप फुलपाती आँगनमा प्रवेश गराउने कार्य हुन्छ । फुलपातीको दिन टुँडिखेलमा बढाइँ भएपछि फुलपाती स्वरुप केरा, दारिम, धान, हलेदो, मने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पुजी प्रत्येकको नौका दरले दुर्गापुजा गरेको स्थानमा भित्राइन्छ ।
यी नौ पातमा क्रमशः ब्रहाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कात्र्तिकी देवीलाई एक एक गरी आवाह्रान कगरेर सोह्र सामाग्रीले पुजिन्छ । इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमसँगै नवरात्र व्रत गरेका थिए ।
यस दिनमा बिशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदीको पनि पुजा गरिन्छ । यस दिनमा गोरखा दरबारको दशैघरबाट ल्याइएको फुलपाती राजधानी ल्याई बढाइँको साथ हनुमान ढोका भित्राइन्छ ।
यसरी मनाइन्छ फुलपाती
फुलपातीको आफ्नै महत्व रहेको छ । घटस्थापनाको दिनदेखि दशै सुरु भएर दशैको चहलपहल भने फुलपाती सम्म रहन्छ । घर–घरमा फुलपाती भित्राएर दशैको रौनक सुरु हुन्छ । शुभ साइतको प्रतिक मानेर फुलपाती भित्राउने गरिन्छ । गोरखा देखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राहण जातिका ६ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौडी र सास्कृतिक नाचगानसहितको लावालस्करका साथमा फुलपाती ल्याउने चलन छ । राजतन्त्रको समयमा हनुमानढोकाका दरबारको दशैघरमा फुलपाती भित्राँउदा राजा उपस्तिथ हुने चलन रहे पनि हालको गणतन्त्रमा भने सस्कृतिमन्त्री उपस्थित हुने गरेका छन् ।