Logo

जन्मदिनको खर्च शैक्षिक कार्यमा



तम्घास, ७ कात्तिक: जन्मदिन मनाउँदा ठूलो खर्च गरी केक काट्ने गरेको सबैले देखेकै छौँ । आजकाल त्यहाँ भने जन्मदिन मनाउने तरिका फरक हुन थालेका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलका अनिलकुमार जिसीले जन्मदिनको खर्च कुनै केक काट्नमा नभई विद्यार्थीको शैक्षिक क्षेत्रमा खर्चेका छन् । शुक्रबार जिसीको जन्मदिन हो । त्यसैका अवसरमा उनले धुर्कोट –४ जैसीथोक रातापोखराकी मीना कुँवरकी छोरी पाञ्चायन माध्यमिक विद्यालय, कक्षा ७ मा अध्ययन गर्ने करिश्माको आगामी वर्षका लागि शैक्षिक खर्च प्रदान गरेका छन् । जन्मदिनका अवसरमा उनले कापी, कलम, पोशाक, जुत्ता, झोलालगायत सामग्री प्रदान गरेका हुन्। अहिले केसी मुसिकोट नगरपालिका वडा नम्बर २ मा पशु स्वास्थ्य शाखा सम्बन्धमा करारमा नियुक्त भई काम गर्दै आएका हुन् । गत असोज ९ गते नेकपा जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य विनिता पोखरेलको जन्मदिन परेको थियो । उनको जन्मदिनमा पनि उनले करिश्माका दाइ कक्षा ८ मा पढ्ने विशालको आगामी शैक्षिक सत्रका लागि शैक्षिक खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए ।

करिश्माकी बहिनी कक्षा ३ मा पढ्ने लक्ष्मीलाई पाञ्चायन माविका पूर्वशिक्षक एवम् सिटिजन लाइफ इन्स्योरेन्स गुल्मी शाखाका प्रमुख दीपक पोखरेलले एक वर्षको शैक्षिक खर्च व्यहोर्ने घोषणा गरेका थिए । केसी र पोखरेल दुवैले आफूहरुसँग धेरै पैसा नभई विद्यार्थीको पढ्न पाउने हकलाई सुनिश्चित गर्न सहयोग गरिएको बताए ।

पछिल्लो समय त्यहाँ जन्मदिनका अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने लहर नै चलेको छ । बुधबार नेकपा जिल्ला कमिटी सदस्य नरेश भण्डारीले पीपलधाराका दुई विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका थिए । यसअघि पनि विभिन्न व्यक्तिले आफ्नो जन्मदिनका अवसरमा जैसीथोक, वस्तुलगायत ठाउँका विभिन्न विद्यार्थीलाई न्यूनतम एक वर्षलाई पुग्ने शैक्षिक सामग्री प्रदान गरेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्