Logo

लिवियाली द्वन्द्वरत समूहबीच ’स्थायी’ युद्धविरामका लागि हस्ताक्षर



७ कात्तिक: लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उनीहरूले यो कदमलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् ।

“लिबियाली जनताका लागि आजको दिन शुभ हो,“ समस्याग्रस्त उत्तरी अफ्रिकी देशका लागि संयुक्त राष्ट्रसंघका दूत स्टेफनी विलियम्सले भने ।

त्रिपोलीमा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारले पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनसँग संघर्ष गरिरहेको छ र शक्तिशाली सैनिक जनरल खलीफा हफ्तरको नियन्त्रण रहेको छ ।

“शुक्रबार बिहान ११ः१५ मा जेनेभास्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा दुई लिबियाली प्रतिनिधिमण्डलले तत्काल लागु हुनेगरी देशव्यापी तथा स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्,” उनले भने ।

विलियम्सले भने, “ सबै सैन्य इकाइ र सशस्त्र समूहहरु आफ्नो शिविरहरुमा फर्किनका लागि स्थायीरूपमा द्वन्द्व अन्त्यका लागि सहमत भएका छन् ।

“आजदेखि अधिकतम तीन महिनाको अवधिमा लिबियाली स्थल, आकास र जल क्षेत्रबाट सबै विदेशी लडाकूहरू फिर्ता हुनेछन् ।”

नाटो समर्थित विद्रोहमा तत्कालिन शासक मोहमर गद्दाफीको पतन र हत्यापछि लिबिया लगभग एक दशकदेखि द्वन्द्वको घेरामा परेको छ । त्यसबेलादेखि लिविया दुई कडा विरोधी प्रशासनबीच विभाजित छ ।

तर अगस्टमा दुई सशस्त्र समूहले छुट्टै शत्रुता बन्द गर्ने घोषणा गरेपछि समाधानको आशा बढेको थियो । यद्यपि दुबै पक्षले एक अर्कालाई “आतंकवादी“ समूहलाई समर्थन गरेको आरोप लगाउन भने छाडेका छैनन् ।

यूरोपियन युनियन र लिबियाको पूर्व औपनिवेशिक शक्ति इटालीले यो सम्झौताको प्रशंसा गरेको छ ।

“स्थायी युद्धविरामको सहमति राजनीतिक वार्तालाप पुनः सुरु गर्नका लागि महत्वपूर्ण छ,“ ईयूको विदेश नीति प्रवक्ता पीटर सानोले भने, “यो सम्झौतालाई कार्यान्वयन भएको देख्नु पनि महत्वपूर्ण हुनेछ ।”-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot