Logo

नक्साको चुच्चो नदेखिएपछि…



कात्तिक ७, काठमाण्डौ । आज विहानैदेखि नेपालको नक्साका बारेमा सामाजिक संजालमा निकै बहस भयो । प्रधानमन्त्री केपी ओलीले करिब १० बजेतिर दशैँको शुभकामना सन्देशसहित सामाजिक संजालमा तस्वीर राखेको थिए । उक्त तस्वीरमा एकातिर ओलीको तस्वीर थियो भने अर्कोतिर शुभकामना सन्देश थियो । अनि माथिल्लो भागमा नेपालको निशाना छाप राखिएको थियो । उक्त निशाना छापभित्र रहेको नेपालको नक्साको आकार निकै सानो थियो ।

शुभकामना सन्देशको स्वरुप तयार पार्दा निशाना छाप सानो भएको थियो र त्यसभित्रको नेपालको नक्सा स्पष्ट नदेखिने अवस्थामा पुगेको थियो । स्पष्ट नदेखिएको नक्सा लिपुलेक लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा हो वा होइन भनेर धेरैले ठम्याएन सकेनन् ।

नयाँ नक्सामा लिपुलेक लिम्पियाधुरा र कालापानी भएको स्थानमा चुच्चो भाग निस्किएको सबैलाई याद थियो । तर ओलीको शुभकामना सन्देशमा नक्सामा चुच्चो भाग देखिएको थिएन । सामाजिक संजाल प्रयोगकर्ताले ओलीले शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग गरेको भनेर आलोचना गरे ।

निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले लिम्पियाधुरा क्षेत्र भएको नक्सा प्रयोग नगर्नुलाई त्रुटि मान्न नसकिने बताएका छन् ।

सामाजिक संजालमार्फत उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै लेखेका छन्–लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ? गम्भीर विमती दर्ज होस् ।’ शर्माले देशको संसदले पारित गरेको नक्सा असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी छ कि विसर्जन भयो भनेर पनि प्रश्न गरेका छन् ।

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसपछि तीन क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सा संशोधन गर्नका लागि संविधान पनि संशोधन गरिएको थियो । हाल यही नक्सा प्रयोगमा छ ।

तर, प्रधानमन्त्री ओलीले नै संसदबाट पारित भएको नक्सा प्रयोग नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक दलका नेताहरूले विरोध जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot