Logo

बोटे समुदायलाई दशैँ राहत



लमजुङ, ९ कात्तिक: माहिन्द्रीगंगाको किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपीप्ले बजार नजीकैको बोटेगाउँका बोटलाई दशैँ राहत उपलब्ध भएको छ । यही कात्तिक ६ गते राससमा ‘दशैँले नछोएको बोटे बस्ती’ समाचार प्रकाशन भएपछि आज बिहान बोटे बस्तीमै पुगेर १६ घरपरिवारलाई लमजुङ उद्योग वाणिज्य संघका तर्फबाट जिल्ला प्रशासन कार्यालय लमजुङले दशैँको राहतस्वरुप खाद्य सामग्री उपलब्ध गराएको हो ।

प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, एक लिटर तोरीको तेल, एकएक पोका नुन र एक पोका सोयाबिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले हस्तान्तरण गरे । उनले खाद्य सामग्री हस्तान्तरण गर्दै भन्नुभयो, “हामीलाई पहिला थाहा भएन, राससमा समाचार पढेपछि बल्ल त्यहाँको अवस्थाबारे जानकारी भयो, अनि सो संघलाई खाद्य सामग्री उपलब्ध गराउन अनुरोध गरेर वितरण गरेका हौ । दशैँ भित्रिसकेको छ, राहत उपलब्ध गराउन ढिलो भए पनि यस राहत सामग्रीले सहयोग पुग्ने विश्वास गरेको छु ।”

नगरका उपप्रमुख राजकुमार श्रेष्ठ, वडाध्यक्ष निर्मल गौतम, सदस्य किनबहादुर कुमाल, महिला सदस्य राममाया श्रेष्ठ, दलित महिला सदस्य सरला सुनारलगायतले सो राहतले बोटे समुदायलाई दशैँमा सहयोग पुगेको बताउँदै आगामी दिनमा सबै मिलेर यस्ता समस्यामा परेका नागरिकहरुको पक्षमा लाग्नुपर्नेमा जोड दिए । रासस जिल्ला प्रतिनिधि जनक श्रेष्ठले बोटे समुदायका बारेमा समाचार नलेखेको भए र सो खाद्य सहयोग नआएको भए त्यहाँका सो परिवारको दशैँ खल्लो हुने उनीहरुको भनाइ थियो । रासस र प्रशासनलाई बोटे समुदायले धन्यवाद दिएको छ । दशैँ मनाउन नसक्दा खोसिएको खुशी प्रशासनले राहत उपलब्ध गराएपछि फर्किएको बोटे समुदायको भनाइ छ ।

विगतमा ज्यालामजदूरी गरेर जसोतसो वर्षेनी रमाइलो र खुशीसाथ दशैँ मनाउँदै आए पनि यस वर्ष लकडाउनले काम नपाएपछि बेखर्ची बन्न पुग्दा राहतको आवश्यकता परेको ५२ वर्षीय सीताकुमारी बोटेले बताए । दशैँ मनाउन समस्या पर्दा निराश भएर बसिरहेका बेला राहत पाएपछि ठूलो टेवा पुगेको उहाँको भनाइ थियो । दशैँका बेला एक छाक खानलाई समेत दालचामल नभएका बेला खाद्य पदार्थ पाएपछि धेरै खुशी लागेको खड्काबहादुर बोटेले बताए । दशैँमा खाद्य सामग्री पाए पनि माछामासुका लागि भने ऋण काढेर खानुपर्ने भएको बोटे समुदायका अध्यक्ष झंकबहादुर बोटेको भनाइ थियो ।

मादी नदीमा डुंगा तार्ने र माछा मार्ने पानीपतिहरुको पुख्र्यौली पेशा केही वर्षदेखि गुमेपछि मेलापात, खेतीपाती गरेरै जीवनयापन गर्नुपरेको र ऋण काढेरै खानुपर्ने बाध्यता थपिएको स्थानीयवासीको भनाइ छ । पुख्र्यौली पेशा लोप भएको र जग्गाजमीन उचित मूल्य नपाउँदै बिक्री गरेर सकिएकाले बोटेहरु निकै मारमा परेका छन् । उचित शिक्षा नपाउँदा बस्तीमा चेतनास्तरसमेत माथि उकासिन नसकेको र शिक्षा नै नभएकाले स्वास्थ्य, सरसफाइ, रोजगारी जस्ता क्षेत्रमा पनि सुधार हुन सकेको छैन । यहाँ ३० घरधुरी बोटे छन् । तीमध्ये आधा घरधुरी गरीब छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्