महेन्द्रनगर, ९ कात्तिक: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा पुर्व–पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बस्दै आएका छन् । उनीसित सम्पतिका नाममा केही पनि छैन । बोहराले टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहेका छन् ।
विसं २०६२ देखि टहरामा बस्दै आउनुभएका बोहरा हिउँदमा भने यसरी बस्न सक्नुहुन्न । टहरामा जोडो खपि नसक्नुको हुन्छ । त्यसैले हिउँदमा उहाँको परिवार बनहरा पुलमुनि बास्छ । यसरी पुलमुनि ओत लागेर बस्दै आएको बोहरा परिवारको हिउँद निकै कष्टपूर्ण रहन्छ ।
“सुकुम्बासी बस्ती त नाम मात्रको हो”, बोहराले भने, “वर्खा याममा बाढीको डर रहन्छ, अरु समय हाम्रो बास पुलमुनि नै हुन्छ ।” मुलुकमा आएका विभिन्न व्यवस्था परिवर्तनमा भुक्तभोगी बोहरा पछिल्लो समय गाउँ गाउँमा सिंहदरबार आए पनि आफ्नो परिवार भने ओत लाग्न पुलमुनि बास बस्नु परेको पीडा सुनाए ।
“राजमार्गमा सङ्घीयदेखि स्थानीय तहका जिम्मेवार तहका पदाधिकारी गाडीमा ओहरदोहर गरिरहन्छन्”, उनले भने, “ती गाडीमा यात्रा गर्ने ठुलाबडाले हामीलाई देखे नदेखे झैँ गर्छन ।”
प्राय: मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका सुकुम्बासी परिवार कोरोना महामारीको कहरपछि त्यही काम गर्न पनि पाइरहेका छैनन् । काम पाउन गाह्रो भएपछि उनीहरुलाई परिवारको खर्च टार्न मुश्किल परिरहेको छ । “कोरोना महामारी आएपछि पेट पाल्न धौ धौ भएको छ”, बोहराले भने, “विपन्नका नाममा राहत बाँडिएको सुनियो, तर हाम्रो बस्तीमा कोही आएनन् ।”
उक्त सुकुम्बासी बस्तीमा हाल २६ परिवारको बसोबास छ । सोह्र वर्षदेखि सुकुम्बासी बस्तीमा बसोबास गर्दै आए पनि अझै पुनस्र्थापनाको कुनै सुरसार नदेखिएको उनीहरुको गुनासो छ ।
“बस्तीमा जङ्गली हात्ती आएर अन्नपात नष्ट गरेर जान्छ, स्थानीय सरकारले कुनै सहयोग गर्दैन”, बोहराले भने, “बस्ती पुनस्र्थापनाका लागि धेरै पटक सरोकारवाला निकायसित गुहार गरे पनि सुनुवाइ भएको छैन ।”
यसैगरी बस्तीमा बस्दै आएकी कलमती दमाई सुरक्षित बसोबासको आश गरेको वर्षौँ वितेको बताए । “सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नु पर्ने बाध्यता छ”, उनले भने, “ठूलो परिवार हुँदा व्यवस्थापन गर्न कठिन भएको छ ।”
निर्वाचनका बेला टोलमै आएर नेताहरुले समस्या सामाधानको आश्वासन दिने गरेको भए पनि त्यसपछि भने कोही देखा नपरेको दमाईले बताए । सुकुम्बासी बस्तीका बालबालिका विद्यालय समेत जाने गरेका छैनन् । बस्तीको पुर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्की माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिनुपर्ने भए पनि आफ्ना बालबालिकालाई उक्त सुविधा उपलब्ध नभएको बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण बस्तीका बालबालिका पढ्न सक्ने अवस्था छैन । “सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरे पनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्”, उनले भने, “बस्तीका धेरै बालबालिकाले अझै विद्यालय देख्न पाएका छैनन् ।”रासस