Logo

दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर, नेपालमा कस्तो असर पर्ला ?



समाचार विश्लेषण । अमेरिकी राष्ट्रपतिको निर्वाचनभन्दा ठिक अघि एशियामा नयाँ घटनाक्रम विकास भएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ अक्टोबरमा जापान भ्रमण गरेको एक महिनाभित्रै दक्षिण एशियाको भारत, श्रीलंका, मालदिभ्सका अलावा दक्षिणपूर्वी एशियाली मुलुक इन्डोनेशियाको भ्रमण गर्दैछन् । उनी रक्षामन्त्री मार्क इस्परको साथमा हुनेछन् । यो भ्रमण चीनलाई काउन्टर दिने रणनीतिक उद्देश्यले हुँदैछ ।

यसअघि जापानमा क्वाड राष्ट्रका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन पम्पिओ पुगेका थिए । अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु बसेर एशियामा चीनको बढ्दो प्रभावलाई रोक्नेबारे छलफल गरेको विषय बाहिर आइसकेको छ । ती देशहरुले हिन्द-प्रशान्त महासागरमा संयुक्त नौसैनिक अभ्यास गर्नेछन् । मलाबार भनिने यो नौसैनिक अभ्यासको आयोजना भारतले गर्दैछ ।

पम्पिओ भारत भ्रमणमा जाँदैछन् । यो भ्रमण सामरिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले हुनलागेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । भारतसँग चीनको सीमा विवाद र झडप भइरहँदा पम्पिओको भ्रमण अर्थपूर्ण छ । चीनले आर्थिक र सैन्य प्रभाव बढाएको श्रीलंका र मालदिभ्समा पनि पम्पिओ जाँदैछन् । दुवै टापु राष्ट्रको भ्रमण चीनको प्रभाव कम गर्ने उद्देश्यले हुनलागेको टिप्पणीहरु भइरहेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार अमेरिकाले शितयुद्धको मानसिकता लिएर कार्य गरिरहेको आरोप लगाएका छन् । उनले चीनको दक्षिण एशियाका देशहरुमा गहिरो प्रभावतर्फ संकेत गर्दै ती देशहरुलाई अमेरिकाले धम्की दिनथालेको आरोप लगाए । यसबाट पनि पम्पिओको दक्षिण एशिया भ्रमणबारे चीन गम्भीर भएको बुझ्न सकिन्छ ।

दक्षिण एशियामा अमेरिकाले भारतसँग मिलेर चीनलाई काउन्टर दिने रणनीति बनाएको घटनाक्रमले देखाइसकेको छ । पम्पिओको भ्रमणले यही संकेत गर्दछ । विशेषगरी श्रीलंका र मालदिभ्सलाई पनि चीनबाट टाढा राख्ने उसको अभिप्राय देखिन्छ ।

नेपालमा के होला ?
नेपालमा पछिल्लो समय चीनको प्रभाव बढेको विषयहरु अन्तर्राष्ट्रिय वृत्तमा भइरहेको छ । विशेषगरी केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि चीनको प्रभाव बढेर गएको छ । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएर नेपालप्रति चीनको चासो बढेको सन्देश गयो ।

चीनको बढ्दो प्रभावप्रति अमेरिका र भारत दुवै सतर्क देखिएका छन् । हिमालय क्षेत्रमा चीनको सैनिक उपस्थिति बढ्दै गएपछि अमेरिका र भारतले यसलाई काउन्टर दिन समझदारी गरिसकेको विषय भारतीय सञ्चारमाध्यमहरुले जनाइसेका छन् । टाइम्स अफ इन्डियाले पम्पिओको भारतलगायत दक्षिण एशियाका मुलुकहरुको आसन्न भ्रमणलाई त्यसरी नै विश्लेषण गरेको छ ।

पम्पिओ आउनुअघि भारतको गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलले नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । यो भेट आफैमा अर्थपूर्ण छ । पम्पिओले भारत भ्रमणमा नेपाल नीतिबारे पनि छलफल गर्न सक्छन् । यद्यपि, उनले नेपाल भ्रमण नगर्ने भएका छन् । भारतमै बसेर नेपाल नीतिबारे टुंगो लगाउने सन्देश दिएका छन् ।

एकातर्फ, चीनले अमेरिकामाथि दक्षिण एशियाका आफ्ना मित्रशक्तिमाथि धम्की दिएको आरोप लगाइरहेको छ । अर्कोतर्फ चीनको प्रभाव बढेको नेपाललगायत दक्षिण एशियाका केही देशहरुमा अमेरिका र भारतले आफ्नो नयाँ रणनीतिहरु लागू गर्न थालिसकेका छन् । विशेषगरी यो चीनलाई काउन्टर हुनेगरी भइरहेको देखिन्छ । यसले नेपालको आन्तरिक राजनीति र बाह्य सम्बन्धमा पनि असर पार्ने सम्भावना छ ।

नेपालमा भारत, चीन र अमेरिकाको रणनीतिक स्वार्थ जुध्दा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चुनौती थपिन सक्छ । उनका लागि कुटनीतिक चार्तुयताको झन् ठूलो आवश्यकता पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्