Logo

हामी सरकारले भनेपनि कोभिडका विरामीलाई निःशुल्क उपचार गर्न सक्दैनौं : डा. पाण्डे



काठमाडौं, ११ कार्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष डा. चक्रराज पाण्डेले सरकारले भनेपनि निजी अस्पतालले निःशुल्क उपचार गर्न नसक्ने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  डा. पाण्डेले भने,‘हामी त काममै व्यस्त छौं। उपचारको सवालमा हामीले गर्नसक्ने जति हामीले गरिरहेका छौं । अहिलेको मुख्य समस्या भनेको कोभिडकै हो । यसमा दुई-तीन वटा ईस्यु भनेको जति विरामीलाई ठाउँ दिनुपर्ने हो, त्यो दिन सकिएको छैन् । सिकिस्त विरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्न गार्हो छ । जनताको पेमेन्ट गर्ने क्षमता कम भएकोले त्यो खालको उपचार गर्न उहाँहरुलाई निकै गार्हो छ ।’

तर, सरकारले त कोभिड विरामीलाई निःशुल्क उपचार गर्नुपर्छ भनेको छ नि ? भनेर सोधेको प्रश्नमा डा. पाण्डेले निःशुल्क उपचार गर्न सम्भव नै नभएको जिकिर गरे । उनले थपे,‘कुरा गर्न सजिलो छ । भन्नलाई जसले पनि भन्न सक्छ । सरकारी अस्पतालमा निःशुल्क गरे भैहाल्यो नि । औषधी किन्नै पर्यो । डाक्टरलाई तलब दिनै पर्यो । मास्क चाहियो । पिपिई चाहिहाल्यो । निजी अस्पतालले कोरोनाको निःशुल्क उपचार गर्न सक्दैनन् । पैसा कहाँबाट लिएर आउने ? औषधी कहाँबाट ल्याउने ? सफासुग्घर कसरी गर्ने ? औषधी बोटमा फल्छ ? हुने कुरा पो गर्नुपर्छ । हामीले त सरकारलाई भनिराखेका छौं । जति पनि प्राइैभेट अस्पताल सरकारले लिनुपर्छ । हामी सरकारको मातहतमा बसेर काम गर्न तयार छौं । विरामीको लागि हामी सरकारको मातहतमा बसेर काम गछा्र्रैं । गर्ने पो कसरी ? निःशुल्क उपचार सम्भव नै भएन । सरकारले भनेको हो कि होईन त्यो पनि मलाई थाहा छैन् । पैसा नलिईकन उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार हो । यो त राज्यले गर्नुपर्ने काम हो । हामीले उपचार नगर्ने भनेकै छैन् । मैले त व्यवहारिक कुरो पो गरिराखेको छु । तर, उपाय चाहियो ।’

अनि तपाईले स्वास्थ्यमन्त्रीसँग कुरा गर्नुभएको छैन् ? भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा उनले भने,‘म त अस्पतालमा काम गर्ने डाक्टर हो, समस्याहरु हरेक क्षण भैरहन्छन् । म सरकारी निकायमा काम गर्ने व्यक्ति पनि होईन । सरकारले बेडहरु निजीसँग किन्नुपर्यो । र, पब्लिकलाई निःशुल्क सेवा दिनुपर्यो ।’

FOR VIDEO:



प्रतिक्रिया दिनुहोस्

Screenshot