Logo

यसकारण सर्यो नेकपाको केन्द्रीय कमिटी बैठक



काठमाडौं, १२ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिना पर धकेलिएको छ । यही कार्तिक १५ गतेदेखि १७ गतेसम्म बस्ने भनिएको बैठक आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्मको लागि स्थगित् भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै यतिवेला सम्वादहिनताको अवस्था छ । दुई अध्यक्षबीच मन्त्रिपरिषद विस्तारलाई लिएर विवाद सुरु भएको थियो । तर, पछिल्लो समय पार्टीको कर्णाली प्रदेश कमिटीको विवादसम्म आईपुग्दा अध्यक्षद्धयबीच राम्रोसँग सम्वाद पनि भएको छैन् ।

मन्त्रिपरिषद पूनर्गठन गर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठकको स्पिरिटलाई लत्याएको दाहालको गुनासो छ । अलिक ठूलो मात्रामा मन्त्रिमण्डल पूनर्गठन गर्नुपर्ने भनेर पार्टीभित्रैबाट आवाज उठिरहेको बेलामा ओलीले भने आफूनिकट तीन जनालाई मन्त्री बनाएर रिक्त मन्त्रालयको नेतृत्व गर्न पठाए । यसले दाहालमात्रै होईन, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले ओलीको यो कदमको आलोचना गरेका छन् ।

नेकपानिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री ओली तत्काल केन्द्रीय कमिटी बैठक फेस गर्ने पक्षमा छैनन् । स्रोतले भन्यो, उहाँ अहिले केन्द्रीय कमिटी बैठक फेस गर्ने पक्षमा हुनुहुन्न । अहिले सिमा विवाद, एमसिसीदेखि भारतीय गुप्तचर विभाग रअका प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको भेटवार्ता अबको बैठकको एजेण्डा बन्ने निश्चित छ । तर, प्रधानमन्त्री यी सबै विषय बैठकको एजेण्डा नबनुन भन्ने चाहनुहुन्छ । नेकपाको अब बस्ने केन्द्रीय कमिटी बैठकलाई महाधिवेशनको तयारीस्वरुप हेरिएको छ । तर, नेताहरुबीच अहिलेपनि मनमुटाब र विवाद देख्दा चैत्रमा महाधिवेशन नहुने निश्चित् भएको छ । अहिलेसम्म अध्यक्षद्धयको साझा प्रतिवेदनपनि आउन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot